२३ जेष्ठ २०७५, बुधबार
  • हरिशजंग क्षेत्री

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन बिभागीय टोलीहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाएका छन् ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले हराउँदै नेपाल पुलिस समूह बीको विजेताकारुपमा सेमिफाइनलमा पुग्यो । पराजयका बाबजुद प्रदेश ५ पनि सेमिफाइनलमा स्थान बनाएको छ । समूह एबाट आर्मी र एपीएफ क्रमसः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन् । शुक्रबारदेखि सुरु हुने सेमिफाइनल खेलहरुमा समूह ए को विजेता आर्मीले समूह बीको उपविजेता प्रदेश नम्बर ५ संग तथा समूह ए को उपविजेता एपीएफले समूह बीको विजेता नेपाल पुलिससँग प्रतिष्पर्धा गर्नेछ ।

बुधबार टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०० रनको मध्यम योगफल बनाएको थियो । उसका लागि शंकर रानाले ४४, शौरभ खनालले ४२ ,राजबीर सिंहले २१ र सन्दीप सुनारले २० रन बनाए । त्यस्तै कृष्ण कार्कीले २६ रन बनाए । बलिङतर्फ पुलिसका ललित राजबंशीले २ बिकेट लिए । २०१ रनको लक्ष्य पुलिसले दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकको सहयोगमा ४४ ओभरमा ३ विकेटमा पूरा ग¥यो । पुलिसका ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १०४ रनको अविजित शतकीय साझेदारी गरेपछि सहज जित हासिल गरेको हो ।

ऐरीले ५३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ५८ रन बनाउँदा शेखले ५१ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ४५ रन जोडे । यसअघि ओपनरहरु सुनील धमला र अमित श्रेष्ठले क्रमसः ३६ र ३० रन जोडेर आउट भएका थिए । त्यस्तै दिलिप नाथले पनि २४ रनको पारी खेले । बलिङतर्फ प्रदेश ५ का सन्दिप सुनारले २ तथा लाल अधिकारीले १ विकेट लिए । दिपेन्द्र सिंह ऐरी खेलको म्याच अफ द म्याच चुनिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV