२३ जेष्ठ २०७५, बुधबार

त्रिशूली । जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् ।

बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेकाले माटोका भाँडाको बिक्रीबाट पनि कमाई राम्रो भइरहेको बताएका हुन् ।

बजारको भन्दा पनि भाँडा बनाउन उपयुक्त माटोको अभावले कुमाल आफ्नो परम्परागत पेशाबाट पलायन भएको विदुर नगरपालिका–५, हसनटारका मीनकुमार कुमालले बताउनुभयो ।

“भाँडा बनाउन आवश्यक माटो पाउन गाह्रो छ । जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन”, उहाँले भन्नुभयो, “यहाँ वरपरमा बट्टारको कभर्ड हल क्षेत्र र च्वाडी स्कूलको जग्गामा मात्र भाँडा बनाउन उपयुक्त माटो पाइन्छ । अहिले त्यहाँ माटो झिक्न दिँदैनन् । माटै नभएपछि भाँडा कसरी बनाउने ?”

भाँडा बनाउनका लागि यसपटक वडाध्यक्षको रोहवरमा कभर्ड हल क्षेत्रबाट माटो ल्याएर भाँडा बनाइरहेको उहाँले बताउनुभयो । उहाँले वर्षभरि बनाएका भाँडाहरु सबै बिक्री हुने गरेको छ । “सामान उत्पादन गर्न सक्नुपर्छ । बजारको कुनै समस्या छैन । घरैबाट बिक्री हुन्छ । पहिले जस्तो भाँडा बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन”, मीनकुमारले भन्नुभयो, “महिनाको ३०÷३५ हजार रुपैयाँ कमाउन गाह्रो हुन्न ।”

माटो पाउन मुस्किल हुन थालेपछि भाँडा बनाउनै छाडेका जीतबहादुर कुमालले स्थानीय सरकारले कुमाललाई सहज रुपमा माटोको व्यवस्था गरिदिनुपर्ने बताउनुभयो । “हामी किन्न परेपनि किन्छौँ ।

तर माटो जहाँ पाइन्छ त्यहाँबाट सहज रुपमा झिक्न दिने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो । भाँडा बनाउनका लागि लिसाइलो हल्का कालो माटो आवश्यक पर्छ । त्यो माटोलाई मुछेर पाँच÷सात दिन कुहाएपछि झनै लिसाइलो हुने र त्यस्तो माटोबाट भाँडाहरु राम्रो र बलियो बन्ने जीतबहादुर कुमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV