२२ जेष्ठ २०७५, मंगलवार

इटहरी । अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका डिल क्षेत्रमा करीब चार सय विभिन्न जातका बिरुवा रोपिएको छ । उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत जनप्रतिनिधिसमेतको उल्लेखनीय सहभागिता थियो ।

त्यसैगरी उपमहानगरपालिका क्षेत्रमा प्लास्टिक झोला निषेध अभियान चलाइएको छ । यसै अवसरमा सशस्त्र प्रहरी, बराह बाहिनी मुख्यालय पकली सुनसरी परिसरमा विभिन्न जातका पाँच सय बिरुवा रोपिएको सिद्धकाली गणका सशस्त्र प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै धरान, इनरुवा, दुहबी, बराहक्षेत्रलगायत स्थानमा पनि बिरुवा रोपणका साथै सरसफाइ कार्यक्रम सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी सुनसरीका डिभिजनल इञ्जिनीयर देवनाथ सिंहले जानकारी दिनुभयो । सोही सन्दर्भमा १९ आंैँ राष्ट्रिय सरसफाइ दिवसको उद्घाटन गर्दै डिभिजनल इञ्जिनीयर सिंहले डिभिजन कार्यालय र त्यसअन्तर्गतका विभिन्न स्थानमा बिरुवा रोप्ने कार्यसमेत भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV