२२ जेष्ठ २०७५, मंगलवार

रामपुर, पाल्पा। पाल्पाको रामपुर नगरपालिका–७, किसानवारी बस्ने ७० वर्षीय विष्णु विकले डोको बुनेर नौ जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।

उमेरले डाँडापारिको घाम बन्नुभएका विकको डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उहाँलाई पत्तो छैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर उमेर हिसाब गर्दा ७० पो काट्न लागेछु” उहाँले भन्नुभयो ।

विकले ४१ वर्ष अघिदेखि शुरु गरेको यो पेशालाई अहिलेसम्म पनि उत्तिकै जोश जाँगर मेहनतका साथ निरन्तरता दिँदै आउनुभएको छ । उहाँको हातको सीपले घरमै बसीबसी दिनहुँ आम्दानी गर्ने बाटो बनेको छ ।

सामान्य परिवारमा जन्मनुभएका विकको डोको नबुनेसम्म उहाँको साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेर उहाँको परिवारको जीविका अहिले राम्रोसँग चलेको छ ।

पहिलेपहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गर्नुहुन्थ्यो भने अहिले गाउँघरमा यी सामान बुन्ने मान्छे कमै मात्रामा भएपछि उहाँकै घरमा दिनहुँ आउने गरेको पाइन्छ ।

गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा विकले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको पाइन्छ ।

उहाँले एकवटा बाँस रु २०० देखि तीनसय सम्ममा किनेर डोको बुन्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “कमाउने कोही छैन, सम्पत्तिको नाममा हातमा डोको बुन्ने सीप मात्र छ”– “डोको बुनेर नै छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाएको छु ।”

दिनमा पाँचवटा डोको बुनेर मासिक रु २५ हजार जति आम्दानी गर्नुहुन्छ । एकवटा डोकोको मूल्य साइजअनुसार रु २५० देखि ३५० सम्ममा बिक्री हुने गर्दछ ।

डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको विकले बताउनुभयो । “पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउने?” उहाँले भन्नुभयो । विकले बुनेको डोको बलियो र धेरै समयसम्म टिकाउने हुने र टाढाटाढाबाट पनि डोको खरिदकै लागि ग्राहक आउने गरेका छन् ।

मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन । हेर्दा जोशिला काममा मेहनती ७० वर्षीय विष्णु विकले गरेको पेशा सबैका लागि उदाहरणीय छ । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV