२१ जेष्ठ २०७५, सोमबार

काठमाडौं । अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षीया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोख्दै आफुहरु न्याय खोज्न काठमाडौं आउन बाध्य भएको बताएका छन् ।

सोमबार काठमाडौंमा मृतक नेपालीका आमा लीला नेपालीले पत्रकार सम्मेलन गरेर गत वर्ष पुस ९ गते कालिका मन्दिरमा मृत भेटिएकी समिताको आत्महत्या नभई हत्या नै भएको दाबी गर्नुभयो ।

उहाँले अर्घाखाँचीको प्रशासनले न्याय नदिएको बताउँदै बाध्य भएर आफू न्यायको लागि काठमाडौं आईपुगेको पीडा सुनाउनु भयो ।
उहाँले भन्नुभयो,‘मेरो छोरीको हत्या हुनपूर्व २०७३ साल माघ ७ गते बलात्कार हुनु र त्यसको करिब एकवर्ष पछि हत्या हुनु सामान्य रहस्य होईन, मेरी छोरीको बलात्कारपछि हत्या नै गरिएको हो, जिल्ला प्रशासन कार्यालयमा मैले न्यायको लागि धेरै आग्रह गरें तर राज्यले बलात्कारी राजु अधिकारीलाई समात्नपनि सकेन, त्यसपछि नाटकीय रुपमा छोरीलाई मृत्युको मुखमा पु¥यायो ।’

छोरीको बलात्कारपश्चात हत्या भएपछि जिल्लामा आफूले न्यायको लागि धेरै पैतला खियाएको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘ जुत्ता फाटे तर मैले न्याय पाईंन, त्यसैले म पत्रकारहरुको शरणमा आएकी हुँ, दोषीलाई तत्काल समातेर कारबाही गरियोस्, छोरीको हत्यारालाई समातियोस्, गत वर्ष पुस ६ गते बिहान स्कुल गएकी छोरी ११ बजेसम्म घर नफर्केपछि खबर गरियो, खबर गर्दाखेरी मैले मेरै जातको केटासँग बिहे गरेर हिँडेको खबर आयो त्यसको तीन दिनपछि मृत भेटिएको खबर भूमिकास्थान नगरपालिकाकै झबिन नेपालीले दिएको र मोबाईलमा उसैको धम्किपूर्ण एसएमएस भेटिएको थियो, त्यति प्रमाण हुँदापनि प्रहरीले उनलाई केही समयसम्म निगरानीमा राखेपनि अहिले खुल्लम खुल्ला हिँडिरहेको छ ।’
त्यस्तै कार्यक्रममा मानव अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापाले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV