२१ जेष्ठ २०७५, सोमबार

काठमाडौँ । कथाकार धु्रव सापकोटाको नवीनतम कथासङ्ग्रह ‘विचारको लास’ र्साजनिक गरिएको छ । भृकुटीमण्डपमा सञ्चालित २२ औँ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा सोमबार एक कार्यक्रमबीच साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा सङ्ग्रहको विमोचन गरिएको हो ।

प्रमुख अतिथि शर्माले धु्रव सापकोटा सामान्यजस्ता लाग्ने तर असामान्य र गहन कथा लेख्न सक्ने खुबी भएका कथाकार रहेको चर्चा गरे । उनले सामाजिक विकृतिप्रति तीखो व्यङ्ग्य झल्काउने कथाहरू रहेको सापकोटाको यो साताैँ सङ्ग्रह भएको बताउँदै सापकोटाबाट छिटै नै आठौँ सङ्ग्रहको प्रतीक्षा पाठकले गरिरहनेतर्फ औँल्याए ।

सङ्ग्रहमाथि राम लोहनी र राजकुमार बानियाँले समीक्षात्मक बहस गरे । समीक्षक बानियाँले नेपाली साहित्यका उत्कृष्ट १० कथाकारहरूमध्येमा कथाकार धु्रव सापकोटा समेत पर्ने बताए । उनले ‘विचारको लास’मा सङ्ग्रहित कथाहरू समयसामयिक तर अनौठा र पृथक विषयवस्तुमा आधारित रहेको बताए । कथामा पात्रहरूका गहकिला संवाद मार्फत सामाजिक समस्या र विकृति विसङ्गतिहरूलाई उजागर गर्दै झट्का हान्ने खालका कथा यस सङ्ग्रहमा सङ्ग्रहित रहेको उनको भनाइ थियो ।

अर्का प्रखर समीक्षक राम लोहनीले राजनैतिक विसङ्गतिप्रति तीखो र सशक्त प्रहार गर्ने खालका कथा समेटिएको प्रस्तुत सङ्ग्रह कथापारखीहरूले पढ्नैपर्ने उत्कृष्ट कोसेली रहेको दाबी गरे । प्रतीकात्मक शीर्षक तर आकर्षक कथा रहेको यस सङ्ग्रहका कथाले समाजमा एउटा बेग्लै खालको सकारात्मक सन्देश प्रवाह गर्नसक्ने उनको भनाइ थियो ।

साहित्यकार भुवनहरि सिग्देलद्वारा सञ्चालित उक्त कार्यक्रममा कथाकार सापकोटाले यस सङ्ग्रहमा पछिल्लो समय लेखिएका कथाहरू रहेको बताउँदै पाठकहरूको मन सजिलै जित्ने आशा व्यक्त गरे ।

जम्मा २१ ओटा कथा समावेश रहेको ‘विचारको लास’ शिखा बुक्सबाट प्रकाशित भएको हो । ज्ञानज्योति बुक्स पब्लिकेसनले बिक्री–वितरणको जिम्मा लिएको पुस्तकको मूल्य तीन सय पचास रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV