२० जेष्ठ २०७५, आईतवार

काठमाडौं । मन्त्रीको काम नीतिगत निर्णय गर्नु र त्यसको कार्यान्वयनमा आफ्ना संयन्त्र परिचालन गर्नु हो । तर, नेकपा नेतृत्वको शक्तिशाली सरकारका मन्त्रीको गतिविधि नियाल्दा उनीहरु चर्चाको ‘भोका’ हुन कि भन्ने छनक मिल्छ । किनकी कर्मचारीले गर्ने सामान्य काममा पनि यिनीहरु आफूैलाई दौडाइरहेका छन् ।

शनिवारको एक कार्यक्रममा प्रधानमन्त्रीसहित पाँच मन्त्रीको लस्कर लागेको चर्चा सुरु भइरहँदा आइतबार विहानै गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेतले अर्को चर्चापूर्ण काम गरे, सवारी साधनको प्रदुषण आफैं परीक्षण गरेर ।

गृहमन्त्री थापा थापाथली उत्रिए लगत्तै वन मन्त्री बस्नेत पनि आइपुगे । र, एकैछिनमा दुवै मन्त्रीको हुलिया परिवर्तन भयो । ‘मास्क’ र ‘गाउन’ लगाएर उनीहरु सडकमा ओर्लिए प्रदूषण मापन गर्न । हेर्नेलाई एकैछिन रमिता भयो ।

परीक्षणमा मन्त्रीद्वय नै सक्रिय भए । प्रदुषण मापनको तरिका र त्यसको नतिजाबारे जानकारी लिए । उनीहरुकै उपस्थितिमा १५ वटा जति सवारी साधनको प्रदुषण परीक्षण गरियो । डिजेल गाडिबाट निस्किएको धुँवामा प्रदुषणको मात्रा बढी रहेपछि दस वटा जति सवारी साधन कारवाहीमा परे ।

वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रमको अबसरमा यसरी मन्त्री नै प्रदुषण परीक्षणमा निस्किएका रहेछन् । मन्त्रीलाई सडकमा ओरालेर अभियान सुरु गरेका कर्मचारीले यसलाई अभियानकै रुपमा निरन्तरता दिन्छन्÷दिदैनन् यकिन त छैन तर पनि मन्त्री थापा र बस्नेतले सवारी साधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित परीक्षण आवश्यक रहेको औल्याए ।

मन्त्री बस्नेतका अनुसार वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा मंगलबार स्वच्छ नेपाल महाभियान सुरु गरिँदै छ । प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवद्र्धनलाई एकीकृत गरेर सुरु गरिने महाभियानलाई सफल पार्नुपर्ने उनको भनाइ थियो ।

मन्त्रीद्वयले आफैं सडकमा ओर्लिएर सकारात्मक सन्देश दिन खोजेको भएपनि यो फगत चर्चाका लागि मात्रै नहोस् र यो अभियानलाई मन्त्रीको अनुपस्थितिमा पनि कर्मचारीले निरन्तरता दिउन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV