२० जेष्ठ २०७५, आईतवार
  • रिया भण्डारी

 

काठमाडाैँ । धादिङको चेपाङ्ग वस्तीहरुमा कलिला आमाहरु प्रशस्तै देखिन्छन् भर्खरै बालापन सकेका किशोरीहरुले तेस्रो बच्चा पनि जन्माइसकेका छन् । यसरी कलिलै उमेरमा आमा बनेका महिलामा स्वास्थ्यमा भने जटिल समस्या थपिदो छ ।

धादिङ गजुरी ३ की बिना चेपाङ्ग उमेरले १९ बर्ष भईन् उनी दुई सन्तानकी आमा बनिसकेकी छिन् १५ बर्षमा स्वइच्छाले बिबाह गरेकी उनले १६ बर्ष मा पहिलो सन्तान जन्माइन् र १८ बर्षमा दुई सन्तानकी आमा बनिन । “हाम्रोमा सबैले छिटो नै बिहे गर्छन् छोरी मान्छेले बिहे गरेर भूरा पाइहाल्नु पर्छ भन्छन् । गाउँमा’ शनिबार गजुरी स्वास्थ्य केन्द्रमा सानो पेट दुख्ने समस्याको चेकजाँच गर्न आएकी विनाले न्यूज २४ नेपाल डट टिभीलाई बताइन ।

त्यस्तै धादिङ कै शान्ता चेपाङ्ग (नाम परिवर्तन )ले पनि १५ बर्ष मै बिबाह गरेकी हुन् । स्कुल पढ्दापढ्दै प्रेम बिबाह गरेकी उनले १८ बर्ष की हुँदा दुई सन्तान जन्माइसकेकी थिइन्। अहिले २४ बर्ष कि उनको पाठेघर खस्ने समस्या आएको छ ।
पाठेघर महिलाको प्रजनन् अंग हो । पाठेघरलाई अन्य तन्तुहरूले जोेडेर राखेको हुन्छ, सपोर्ट कम भएपछि ‘लुज’ भएर तल आउँछ । पाठेघर भएको ठाउँ छोडेर केही सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ ।

कसैको कम खस्छ भने कसैको धेरै खस्छ । पाठेघर झर्नु आफैंमा रोग हुँदै नभएको तर, पाठेघर खसेपछि नयाँ रोगहरू आउन सक्ने चिकित्सकहरु बताउछन् । पाठेघर झरेपछि त्यहाँ रगतका नलीहरू पुग्न सक्दैनन् र त्यस ठाउँमा रगत कम हुन्छ र घाउहरू बन्छ,र त्यसपछि सेतो पानी बग्ने चिकित्सकको भनाइ छ । पछिल्लो समय सानै उमेर आमा बनेका अधिकांश महिलाहरुमा पाठेघर खस्ने समस्या छ । कम उमेरमा बच्चा जन्माउने र गर्भवती एवं सुत्केरी अवस्थामा राम्रो हेरचाह र स्याहार नपाउँदा महिलाको पाठेघर खस्ने गरेको हो ।

धेरै महिलाहरु २५ वर्ष नपुग्दै पाठेघर खस्ने र पाठेघरसंग सम्बन्धित बिभिन्न समस्याबाट पीडित बन्ने गरेको भेटिएको छ । तर धेरैले परिवार र आफन्तलाई आफ्नो समस्याको बारेमा बताएका छैनन् । वीर अस्पतालले गरेको गजुरीको पाठेघर मुखको क्यान्सर परीक्षण शिबिरमा सासुसंगै आएकी पार्वती कार्कीको जांचको क्रममा पाठेघर खसेको भेटियो । चिकित्सकले उनलाइ थप उपचार गर्नु पर्ने बताए तर उनले पछि उपचार गर्ने बताउदै संगै आएकी सासुलाइ आफुलाई रोग भएको कुरा नभनिदिन अनुनय विनय गरिन ।

सामाजिक अपहेलना र परिवारबाट तिरस्कृत हुनसक्ने त्रासका कारण यो समस्या कसैलाई पनि नभनेको महिलाहरु बताउँछन् । रोग लुकाए कै कारण उपचार पाउन सकेका छैनन् । उपचार नपाउँदा महिलाहरु थप पीडित बनेका छन् । परिवार र आफन्तले थाहा पाएमा बहिष्कारमा पर्ने डर महिलाहरुमा छ । त्यसैले उनीहरु उपचारको साटो रोग लुकाउने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV