२० जेष्ठ २०७५, आईतवार

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताउनुभएको छ ।

केही सञ्चारमाध्यमका सम्पादकहरुसँग आज अपराह्न भएको भेटघाटमा उहाँले वैदेशिक सम्बन्धको आधार भने सार्वभौमिक समानता, अहस्तक्षेप, आपसी सम्मान र पारस्परिक लाभ नै भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अब उपरान्त आन्तरिक राजनीतिक मामिला द्विपक्षीय छलफलको विषय बन्दैन ।” उहाँले प्रकृति र संस्कृति नेपालको पर्यटनका मूल क्षेत्र भए पनि नेपालको मौलिक शान्ति प्रक्रियालाई पनि प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

परराष्ट्रमन्त्रीले चीन र भारतसँग हाम्रो कुल गार्हस्थ उत्पादनको एक तिहाइ घाटा हुनु डरलाग्दो सङ्केत भएकाले अब सन्तुलनमा ल्याउने प्रयास हुने बताउनुभयो ।

भारतसँगको सम्बन्ध विगतमा उतारचढाव भए पनि सन्तुलनमा ल्याउने प्रयास भइसकेको र भारतले पनि आफ्नातर्फबाट महसूस गरेको बताउँदै उहाँले भारतसँग भएका विभिन्न सम्झौता कार्यान्वयन गर्न नेपालको राष्ट्रिय दिवस अर्थात् संविधान दिवस असोज ३ गते को समय तोकिएकामा त्यसमा प्रगति देखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV