२० जेष्ठ २०७५, आईतवार

काठमाडाैं । सरकारले बजेटमार्फत पुँजीगत अाभर बढाएलगत्तै शेयर बजारका लगानीकर्तालार्इ अर्काे करकाे भार थपिएकाे छ । आन्तरिक राजश्व विभागले हकप्रद र बोनस शेयरमा अग्रिम कर असुल्न सरोकारवाला निकायलाई निर्देशन दिएपछि यसले पुँजी बजारका लगानीकर्तालार्इ निराश बनाएकाे छ ।

विभागले धितोपत्र बोर्ड, नेप्से र सिडिएसीलाई पत्रचारगरी आइतबारदेखि नै अग्रिम कर असुल्न निर्देशन दिएको हो । विभागद्वारा जारी परिपत्रअनुसार अब शेयर बजारका लगानीकर्ताले बोनस र हकप्रद शेयरको चुक्ता मूल्यलाई आधार मानेर लाभकर तिर्नुपर्ने भएको छ ।

यसअघि बोनस र हकप्रदमा आधारमूल्यको आधारमा लाभकर गणना हुँदै आएको थियो । नेप्सेमा हकप्रद र बोनस समायोजन हुँदा निर्धारण गरिएको कम्पनीको औषत आधार मूल्यभन्दा बढीमा शेयर बिक्री गर्दा मात्र लगानीकर्ताले आयको आधारमा पाँच प्रतिशतका पूँजीगत लाभकर तिर्दे आएका थिए ।

आन्तरिक राजश्व विभागको निर्देशन अनुसार आइतबार देखिनै लगनाीकर्ताको बोनस र हकप्रद सेयरको लागत मूल्य एक सय रुपैयाँ कायम भई सो अनुसार लाभकर गणना हुनेछ । अब असार ३२ गतेसम्म व्यक्तिगत लगानीकर्ताले हाल कायम पाँच प्रतिशत र श्रावण १ गतेबाट नयाँ बजेटको व्यवस्थाअनुसार ७.५ प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्ने भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV