१९ जेष्ठ २०७५, शनिबार

काठमाडौं । रहस्यको गर्भमा विलिन बन्दैछ , १७ बर्ष अघिको जेठ १९ गते शुक्रबार रातिको त्यो घटना । सत्यतथ्य वाहिर आइदिए हुन्थ्यो भन्ने चाहना राख्ने नेपाली मनहरुले अझ पनि त्यो घटनालाई स्वीकार्न सकेका छैनन् । राजा बीरेन्द्र लोकप्रिय थिए नेपाली जनमानसमा ।

त्यसैले पनि उनलाई सम्झिनेहरु अझै पनि भक्कानिने गर्छन । तर त्यही घटनामा लाखौ नेपाली आशाको दियो निभे पनि गणतन्त्रको दियो भने त्यही घटनाबाट जलेको रहेछ भन्ने बुझ्नेहरु पनि उत्तिकै छन् ।

नारायणहिटी पर्वको नामले चिनिएको घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य सहित युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भयो । हत्या भएको १७ बर्ष पूरा हुँदा समेत घटनाको सत्यतथ्य अझै पनि सार्वजनिक हुन सकेको छैन । घटनाको दोषीको रुपमा तत्कालीन युवराज दीपेन्द्रलाई उभ्याइयो । तर पत्यार गर्न अझै पनि कसैले सकेका छैनन् ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । जेठ १९ को घटनाले एउटा इतिहासको नै अन्त्य गरिदिएको भएपनि आम नागरिकले अझै पनि वीरेन्द्र र उनका परिवारको प्रशंशा गरिरहेका छन ।

दरबार हत्याकाण्ड भएको ६ बर्ष नवित्दै नेपालमा गणतन्त्रको स्थापना भयो । साढे दुई सय बर्ष लामो राजतन्त्र इतिहासमा सीमित भयो । नेपालको राजतन्त्रको इतिहासमा त्यस्ता थोरै राजा छन् जस्लाई नेपाली जनता र नेपाली परिवेशले कहिल्यै पनि विर्सन सक्दैन । तिनै मध्येका एक भएर रहे राजा वीरेन्द्र पनि । राजा वीरेन्द्रको वंश विनाश संयोग मात्र हो या षडयन्त्र यो प्रश्नले पिरोलिरहेको नेपालीलाई र पिरोलिरहने छ पनि ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV