१९ जेष्ठ २०७५, शनिबार

  • ध्रुव सापकाेटा

म फ्रिडम हाउसमा बस्छु । मैले यसको प्रचार गरेको छु ।

पर्खालको ढोकाको कुनोमा फ्रिडम हाउसको प्लेट राखेको छु । सडकमा हिँड्नेहरूका आँखा ती अक्षरमा पर्छन् । त्यो नामले तिनीहरूलाई तान्छ । के यस्तै हुन्छ त फ्रिडम हाउस ? तिनीहरूमा प्रश्न उब्जिएको हुनुपर्छ । यो घरमा बस्ने मान्छे नि ? तिनीहरूको उत्सुकताको घेरामा म पनि पर्छु । म र मेरो घर । मान्छेहरूको खुल्दुलीको विषय बनेको छ । यो मेरो घर । मान्छेहरूको मनमा तरङ्ग पैदा भएको छ । यो मेरो मनको कुरो हो । मान्छेलाई मैले फ्रिडम हाउसको एउटा खाका कोर्ने मौका दिएको छु । यो पनि मेरो मनको कुरो हो ।

म फ्रिडम हाउसको बरण्डामा बसेर चिया खाइरहेको छु । पर्खालको ढोकामा एउटा युवक उभिएको छ । त्यसले झोला बोकेको छ । सामान्य झोला । उत्सुकतावश उभिने र हेर्नेहरूभन्दा बढी नै समय त्यसले विताएको छ । त्यसको त्यो पर्खाइ अस्वाभाविक लाग्छ । झोलामा त्यसले कतै बम त ल्याएको छैन ? फ्रिडम हाउसमा बम ? फ्रिडम हाउस र आफ्नो अस्तित्व सङ्कटमा पर्न लागेका आशङ्काले म तर्सिन्छु । बमले मरेका, अङ्गभङ्ग भएका हजारौँ मान्छेका अनुहार मेरो आँखामा आउँछन् । मेरा सामुन्नेमा आउँछन् र भन्छन्, ‘तिमी पनि अब हाम्रै साथी भयौ । तिमी पनि हामी जस्तै सिकार भयौ ।’

‘ए बाबू ! के खोज्नुभएको ?’ म बरण्डाबाट नै प्रश्न गर्छु ।

‘म भित्र आउन सक्छु ?’ युवक अनुमति माग्छ ।

म त्यस युवकका लागि ढोका खोल्छु । परिचय उसले नै दिन्छ । एउटा बेरोजगार युवक । विदेश जाने प्रयत्नमा लागेको युवक । स्वीकृतिपत्र पर्खेर बसेको युवक ।

‘म लेखको विषय खोज्दै हिँडेको,’ त्यो युवक भन्छ । म ढुक्क हुन्छु । पूर्ण होइन । म त्यस युवकलाई विश्वास गर्छु । पूर्ण होइन । म त्यस युवकको अनुहार पढ्ने प्रयास गर्छु । छेउटुप्पो पत्ता लगाउन सव््िरmनँ । अध्ययनको आधार मसँग छैन । मेरो पछिपछि त्यो युवक आएको छ । मलाई त्यसले पछ्याएको छ ।

‘पाइयो त विषय ?’ म प्रश्न गर्छु ।

‘आज म यो घरलाई नै विषय बनाउँछु,’ युवक भन्छ ।

‘मेरो घर घटना हो कि दुर्घटना ?’ म युवकलाई प्रश्न गर्छु ।

युवक हाँस्छ । ऊ मेरो कुराले हाँसेको हो कि फ्रिडम हाउसले उसलाई हँसाएको ? त्यो हाँसोमा व्यङ्ग्य छ कि यथार्थ ?

‘किन हाँसेको तपाईं ?’ म युवकलाई प्रश्न गर्छु ।

‘तपाईंले समाचार र लेखलाई एउटै ठानेकोमा,’ युवक भन्छ ।

‘तपाईंले कस्तो किसिमको लेख लेख्ने विचार गरेको ?’म प्रश्न गर्छु ।

‘मलाई फ्रिडमले लोभ्यायो । त्यसमा मेरो स्वार्थ छ । विदेशीहरूको फ्रिडमसँग बढी मोह छ । मेरो पनि मोह छ । त्यसबारेमा लेख छापेँ भने उनीहरू मप्रति आकर्षित हुन सक्छन् । मेरो भावना पनि पोखिन्छ । तिनीहरूले मेरो थप योग्यता देख्नेछन् । मलाई भिसा सजिलोसँग मिलोस्, मेरो आन्तरिक चहना यही नै हो,’ युवक भन्छ ।

‘तपाईंको सपना पूरा होस्,’ म भन्छु ।

‘धन्यवाद,’ युवक भन्छ ।

‘मेरो घरको सामुन्नेमा तपाईं धेरैबेर उभिएको देखेर म थर्र भएको थिएँ,’ मैले भनेँ ।

‘किन ?’ उसको प्रश्न थियो ।

‘तपाईंलाई बम पड्काउने मान्छे ठानेँ,’ म भन्छु ।

‘फ्रिडम हाउसमा बम । फ्रिडम हाउसमा त्रास । तपाईंको आशङ्कामा मेरो समर्थन छ । आखिर ती बम पड्काउने मान्छ पनि म जस्तै हुन्,’ युवक भन्छ ।

बरण्डामा घाम पूरै लागेको छैन । आधा छाया र आधा घाममा हामी बसेका छौँ । म उत्साहित छु । मैले रोजेको नामले राष्ट्रिय अखबारमा ठाउँ पाउने सम्भावना देखिएको छ । युवकको कलम शक्तिशाली भएमा र सम्पादकले मलाई पत्याएमा मेरोे घरको नाम मात्र होइन मेरो नाम पनि अखबारमा छापिने छ । यी त मेरो व्यक्तिगत स्वार्थका कुरा हुन् । मेरो घरको बारेमा लेखेर एउटा बेरोजगार युवकको जीवन सप्रियो भने सबभन्दा बढी खुसी र सन्तोष मलाई हुनेछ ।

‘जुलुस !’ युवा उत्सुकतापूर्वक सडकमा हेर्छ ।

‘फ्रिडम हाउसमा वस्नुको मज्जा नै यही हो,’ म भन्छु ।

‘सडकमा नै गएर हेरौँ कि ?’ युवकको प्रस्ताव छ ।

‘यहीँबाट नै पूरै देखिन्छ,’ म भन्छु ।

‘यो त विस्थापितहरूको जुलुस रहेछ,’ युवक भन्छ ।

‘कुन ठाउँबाट विस्थापित हुनेहरू रहेछन् ? मेरो प्रश्न छ ।

‘प्ले कार्डमा देखिएन,’ युवक भन्छ ।

‘जे भए पनि यिनीहरू स्वदेशी हुन्,’ म भन्छु ।

‘आन्तरिक शरणार्थी,’ युवक भन्छ ।

‘अहिले यस्ताको चाप बढेको छ,’ म भन्छु ।

‘हाम्रो लागि यो जुलुस एउटा तमासा देखिन्छ । हामीहरूलाई मनोरञ्जन दिएको जस्तो देखिन्छ । यिनीहरूको तर्फबाट तपाईंले सोच्नुभएको छ ?’ युवक भन्छ ।

‘त्यसरी सोच्यो भने कहाली लाग्छ,’ म भन्छु ।

जुलुसमा हिँडेकाहरूले बोकेका प्ले कार्डहरूको शब्द हामी पढ्छौँ । प्ले कार्ड बोक्नेहरूमा वृद्ध मात्र छैनन् । प्ले कार्ड बोक्नेहरूमा महिला मात्र छैनन् । प्ले कार्ड बोक्नेहरूमा युवा मात्र छैनन् । प्ले कार्ड बोक्नेहरूमा कलिला बालक मात्र पनि छैनन् ।

‘किताव बोक्ने हातमा प्ले कार्ड छ,’ युवक भन्छ ।

‘कोदाली बोक्ने हातमा प्ले कार्ड छ,’ म भन्छु ।

‘आफ्नो खेतबारीमा चल्नुपर्ने गोडाहरू सडकमा छन्,’ युवक भन्छ ।

‘हँसिया बोक्ने हातमा प्ले कार्ड छ,’ म भन्छु ।

‘हाम्रा लागि तमासा छ । उनीहरूका लागि जीवन–मरणको प्रश्न छ,’ युवक भन्छ ।

‘यिनीहरू एउटै ठाउँका होइनन् रहेछ । सङ्गठन मात्र एउटै,’ म भन्छु ।

‘यिनीहरूको माग हेर्नोस् त,’ युवक भन्छ ।

‘आफ्नो ठाउँमा जान पाऊँ । आफ्नै घरमा बस्न पाऊँ,’ म भन्छु ।

‘आफ्नै खेतमा काम गर्न पाऊँ,’ युवक भन्छ ।

‘यस्ता दिन पनि आउनेछ, तिनीहरूले कल्पना नगरेको हुनुपर्छ,’ म भन्छु ।

‘तिनीहरूको यो पीडाले मनोरञ्जनमा कायाकल्प भएको छ,’ युवक भन्छ ।

मेरी श्रीमतीले चिया ल्याएकी छिन् । कुनै अपरिचित होस् वा परिचित, चियाले स्वागत गर्ने तिनको बानी छ ।

‘यहाँ बस्दा समय सकिएको पत्तै नहुने,’ युवक भन्छ ।

‘जुलुस हेर्दा नै उमेर जाने,’ म भन्छु ।

‘फ्रिडम हाउसमा जुलुस,’ युवक भन्छ ।

‘फ्रिडम हाउसमा नाराबाजी !’ म भन्छु ।

‘फ्रिडम हाउसमा मागपत्र,’ युवक भन्छ ।

‘हिजो यो जुलुस थियो भन्न नपाउँदै आज अर्को खाले जुलुस,’ म भन्छु ।

‘अब कस्तो खाले जुलुस आउन बाँकी छ जस्तो लाग्छ ?’ युवकको प्रश्न छ ।

‘अब रण्डीहरूको,’ म भन्छु ।

‘एउटा अखबारले लेखेको थियो यहाँ तीस हजार नगरबधू छन्,’ युवक भन्छ ।

‘कुनै बेला राजधानीको यति नै जनसङ्ख्या थियो,’ म भन्छु ।

युवकले क्यामेरा सहितको मोबाइल बोकेको थियो । ऊ घरको सामुन्नेमा हिँडेको विस्थापितहरूको फोटो खिच्छ । ऊ मलाई थरीथरीका जुलुसका बारेमा बताइरहेको छ । वेपत्ता पारिएका नागरिकहरूको बारेमा बताउँदा ऊ भावुक बनेको छ ।
युवक आफ्नो नोटबुकमा केही कुरा टिपिरहेको छ । त्यस बेलमा म उसको काममा बाधा पु¥याउन्नँ । म चुपचाप सडकमा हेर्छु ।

‘यो घरमा गिरिजाप्रसाद कोइराला भूमिगत हुनुहुन्थ्यो ?’युवकको प्रश्न छ ।

‘थिएन,’ म भन्छु ।

‘यो घरमा काङ्ग्रेसको चुनावप्रचरको अफिस थियो ?’ युवक सोध्छ ।

‘थिएन,’ म भन्छु ।

‘तिनीहरूको कार्यव्रmमका लागि तपाईंले यो घर उपलब्ध गराउनु भएको थियो ?’ युवकको प्रश्न छ ।

‘कार्यव्रmम घर अगाडिनै भएको थियो,’ म भन्छु ।

‘तिनीहरूलाई चन्दा दिनुभएको थियो ?’ युवकको प्रश्न छ ।

‘दिएको थिएँ,’ म भन्छु ।

‘तपाईंसँग रसिद छ ?’ युवक सोध्छ ।

‘रसिद लिइनँ,’ हातमा नै नगद दिएँ । म भन्छु ।

‘अनि ऐमालेको उम्मेदवारलाई नि,’ युवक सोध्छ ।

‘त्यसलाई पनि सहयोग पु¥याएको,’ म भन्छु ।

‘कस्तो सहयोग,’ युवक सोध्छ ।

‘नगद हो,’ म भन्छु ।

‘तपाईं कमरेड प्रचण्ड चिन्नुहुन्छ ?’ युवक प्रश्न गर्छ ।

‘यो दशकमा सबभन्दा बढी चर्चामा आउने नाम,’ म भन्छु ।

‘तपाईंले उनीहरूलाई त झन् मज्जासँग चन्दा दिएको होला ?’ युवकको भनाइ छ ।

‘छ । आरामसँग । दिल फुकाएर,’ म भन्छु ।

युवकले आफ्नो नोटबुकमा टिप्न छोडेको छैन ।

‘तपाईंले मसँग ठूलठूला नेताको नाम किन सोध्नुभएको ?’ मेरो भनाइ छ ।

‘तपाईं कस्तो खाले मान्छे हो, त्यो कुरा बुझ्न,’ युवक भन्छ ।

‘कमनर । विशुद्ध जनता,’ म भन्छु ।

‘मलाई पनि त्यस्तै लाग्यो,’ युवक भन्छ ।

हामी बसेको बरण्डानजिक एउटा बिरालो कराइरहेको थियो । त्यो बिरालो निक्खर कालो थियो । त्यसका आँखा पहेँलो गुलुप जस्ता । बलेका गुलुप ।

‘तपाईंको घरमा त गज्जबको बिरालो रहेछ,’ युवक भन्छ ।

‘हो । गज्जबको छ । अन्त पाइने भन्दा फरक,’ म भन्छु ।

‘मोटो रहेछ । आँखा पनि टल्कने,’ युवक भन्छ, ‘यो किन छेउमा बसेर कराइरहेको ?’

‘यसले दूध र भात मागेको,’ म भन्छु ।

‘यसको मतलब यहाँ मुसाहरू छैनन्,’ युवक भन्छ ।

‘मुसा त छन् । प्रशस्त छन् । बिरालोले मार्दैन,’ म भन्छु ।

‘मुसा नमार्ने बिरालो !’ युवक भन्छ ।

‘त्यसै मैले गजब छ भनेको, होइन ?’ म भन्छु ।

‘फ्रिडम हाउसमा मुसा नमार्ने बिरालो,’ युवक भन्छ ।

ढोकामा व्यापारीले मिनरल वाटरका दुई जार ल्याएको छ । भरी जार भान्छामा राख्छ र रित्ता जार लिएर निस्कन्छ ।

‘आज तपाईंको घरमा ठूलै भोज छ कि क्या हो ?’ युवकको प्रश्न छ ।

‘कसरी अनुमान गर्नुभयो ?’ मेरो प्रश्न छ ।

‘पानीका जारहरू आउन थाले,’ युवक भन्छ ।

‘यो त नियमित भोजनका लागि हो । यो फ्रिडम हाउसमा धारा छ तर पानी आउँदैन,’ म भन्छु ।

‘शुल्क तिर्न जडान गरिएका धारा,’ युवक भन्छ, ‘अनि जारको पानी महङ्गो भएन ?’

‘पाइयो । त्यही ठूलो कुरा भयो,’ म भन्छु ।

यस पटक युवक आफैँले चिया माग ग¥यो । ऊ फ्रिडम हाउसको बारेमा अङ्ग्रेजीमा लेख्न चाहन्थ्यो । दूतावासको कर्मचारीले बुझ्ने भाषामा । मलाई उसको कामप्रति उत्साह र जाँगर देख्दा यो मान्छे सफल हुन्छ भन्ने लाग्यो । श्रीमती हाम्रा सामुन्नेमा उभिएकी थिइन् ।

‘बस न तिमी पनि,’ मैले भनेँ ।

‘बस्ने फुर्सत छैन । ग्यासका लागि के गर्ने ?’ तिनले मलाई सोधिन् ।

तिनको यो प्रश्नले मलाई एक महिनाअघि पु¥यायो । म यसरी नै बरण्डामा बसेको थिएँ । घरको सामान उनी नै किन्थिन् । तिरोतारो उनी नै गर्थिन् ।

‘ग्यास सकिएको छ । डिलरलाई फोन गर्नोस्,’ तिनले मलाई डिलरको फोन नम्बर दिइन् ।

‘हेलो ! कर्णजी हो ?’ मैले भनेँ ।

‘हो,’ उताबाट जवाफ आयो ।

‘म फलानो,’ मैले भने ।

‘ए,’ उसले कुनै उत्सुकता देखाएन । अपरिचयको धर्सो तन्कियो ।

‘म फलनाका श्रीमान् । फलानाका छिमेकी । तपाईंको दस वर्षदेखिको ग्यासको उपभोक्ता,’ मैले उसलाई चिनाउन सजिलो बाटो बनाएँ ।

‘ए,’ उसले पुरानै राग अलाप्यो ।

‘ग्यास सकिएको थियो । पाइन्छ होला ?’ म सोझो बाटोमा आएँ ।

‘अहिले त छैन,’ उसले भन्यो ।

‘कहिले हुन्छ त ?’ मैले प्रश्न गरेँ ।

‘एक हप्तापछि फोन गर्नोस्,’ त्यसले भन्यो ।

हामीहरू ग्राहक । उसले दिएको समय पर्खियौँ । त्यसपछि उत्साहका साथ फोन गरेँ । फोन उठाउने उही कर्ण थियो । दानी कर्ण । यसको जवाफमा आशाको किरण थियो । एक÷दुई दिनमा मिलाएर ल्याउँछु भनेको थियो । त्यो समयमा पनि घरमा ग्यास आएन । बिर्सेछ कि क्या हो ? मैले फोन गरेँ ।

‘तपाईंले मलाई धेरैँपल्ट फोन गर्नुभयो । सधैँ फोन गरेर कति दुःख दिनुहुन्छ ? म तपाईंलाई ग्यास दिन्नँ । अब फोन नगर्नुस्,’ उसले भन्यो ।

‘यसलाई कसैले केही गर्न सक्क्तैन ?’ श्रीमतीको प्रश्न थियो ।

‘त्यो भए त यसको आँट नै हुँदैनथ्यो,’ म भन्छु ।

‘जसलाई जे गर्न पनि फिरी,’ श्रीमती भन्छिन् ।

‘फ्रिडम हाउसमा बस्नुको मज्जा नै यही हो,’ म भन्छु ।

‘अब के गर्ने त ?’

‘अब कालो बाटो जाने ।’

कालो बाटो ! कालो बाटोमा हर चिज सुगम थियो । समयको सीमामा बाँधिनु नपर्ने । अनावश्यक वार्तालाप गर्नै नपर्ने । लामो बाटो हिँड्नै नपर्ने । अहिले फेरी ग्यास सकिएको थियो ।

‘एकपल्ट त्यसलाई सोध । बाङ्गियो भने कालो बाटो छँदै छ,’ मैले भनेँ ।
‘फ्रिडम हाउसमा कालो बाटो,’ युवकले भन्यो ।

युवक आफ्नो नोटबुक झोलामा राख्छ । उसलाई बिदा गर्न म ढोकासम्म जान्छु । कोठामा आउँछु । खाना खाने समय भइसकेको छ । म खाना खान्छु । आराम गर्छु । तीन बजे म घरबाट निस्को ।

‘आज आउन ढिला हुन्छ,’ म श्रीमतीलाई भन्छु ।

‘आज कहाँ नि ?’ श्रीमतीको प्रश्न छ ।

‘फ्रिडम फाइटरहरूसँग,’ म भन्छु ।

‘फ्रिडम फाइटरहरूसँग भनेको भए बुझ्थेँ,’ श्रीमती भन्छिन् ।

‘ल त म हिँडेँ,’ म भन्छु ।

‘नाम बताए भइहाल्छ नि,’ श्रीमतीको भनाइ छ ।

‘तिमीलाई थाहा नै छ नि,’ म भन्छु ।

‘आजको निम्तो गर्ने मान्छे को नि ?’ श्रीमती सोध्छिन् ।

‘म !’ म भन्छु ।

‘तपाईंको के उन्नति भएको छ ?’ श्रीमतीको प्रश्न छ ।

‘पर्खालमा फ्रिडम हाउसको बोर्ड राखेकोमा,’ म भन्छु ।

‘यो पनि उपलक्ष्य हो ?’ श्रीमतीको प्रश्न छ ।

‘साथीहरू यही भन्छन्,’ म भन्छु ।

‘निहुँ साथीहरूको । तपाईं नै उनीहरूसँग बस्न चाहानुहुन्छ,’ श्रीमतीको भनाइ छ ।

म उनको कुराको प्रतिवाद गर्दिनँ । सडकमा म निस्केको छु । म भिडमा मिसिएको छु । बसस्टपमा पुगेको छु । बस चढ्न सकिने अवस्था आउँदैन । भीडमा कोचिन मन लाग्दैन । म हिँडेर नै जान्छु । साथीहरूले तय गरेको होटलमा पुग्छु । साथीहरू आइसकेका थिए । म तिनीहरूभन्दा आधा घण्टा ढिलो पुगेको थिएँ ।

‘हामीहरूलाई बोलाएर तिमी नै ढिलो ?’ एउटा मित्रको प्रश्न थियो ।

‘हिँडेर आएको,’ म भन्छु ।

‘कति लोभ गरेको । हिँड्न नै थियो भने समय हिसाब गर्नपथ्र्यो ।’

साथीहरू सही थिए । गलत म थिएँ । म हाम्रो सामुन्नेमा उभिएको केटालाई बोलाउँछु । उसको हातको मेनु हेर्छु । परिकार छनोटका लागि मित्रलाई आग्रह गर्छु ।

‘पिउने के त ?’ म प्रश्न गर्छु ।

‘आज त स्केच नै ?’ एउटा मित्रको प्रस्ताव छ । म आफ्नो आर्थिक विवशता देखाउँछु । लोकलको प्रस्ताव राख्छु ।

‘यो त तिम्रो ठूलो उपलक्ष्य हो । यसमा पनि कञ्जुसी ?’ एउटा मित्रको प्रश्न छ ।

‘तिमीहरूको कुरा गलत मैले भनेको छैन । आर्थिकको कुराले पिरलेको मात्र हो,’ म भन्छु ।

साथीहरू भद्र छन् । उनीहरू मेरो प्रस्ताव मान्छन् । हामीहरू विचारविमर्शका लागि मात्र जम्मा भएका छौँ ।

‘तिमीले अराजक भवन राख्न सक्थ्यौँ ?’ एउटा मित्र भन्छ ।

‘म डराएँ,’ म भन्छु ।

‘कोदेखि ?’ मित्रको प्रश्न छ ।

‘अदृश्य शक्तिदेखि !’ म भन्छु ।

‘हाम्रा सामुन्नेमा समेत डरायौ,’ मित्र भन्छ ।

‘भर्खरै ठूलठूला अपहरण भएका छन् । त्यसको प्रभाव यसमा परेको छ,’ अर्को मित्र मेरो बचाउ गर्छ ।

‘तिमीले राजकीय भवन राख्न सक्थ्यौ ?’ मित्र भन्छ ।

‘यो मेरो मनले मानेन,’ म भन्छु ।

साथीहरू फ्रिडम हाउसको प्रशंसामा शब्दहरू खर्च गरिरहेका थिए । मेरा लागि यो सुखद कुरा थियो । नामबाट मलाई साथीहरूको माझमा सफलता मिलेको थियो । पाँच घण्टा बितेको पत्तै भएन । रातको दस बजिसकेको थियो । होटलको केटाले मेरो सामुन्नेमा बिल तेर्सायो । भुक्तान गरेँ । हामीहरू सडकमा आयौँ । साथीहरू पालैपालो ट्याक्सीमा गए । म अन्तिममा थिएँ । ट्याक्सी ड्राइभरसँग कुनै विवाद नगरी बसेँ ।

बिहान म अलि अबेर नै उठेँ । हिजोको ह्याङओभर बाँकी नै थियो । मुख गनाएको थियो, नुहाएँ । दुई गिलास पानी खाएँ । श्रीमतीले कोठामा चिया ल्याएकी थिइन् ।

‘अखबार लिन जान प¥यो । हिजोको त्यो युवाले हाम्रो यो फ्रिडम हाउसको बारेमा केही लेखेको छ कि ?’ मैले भनेँ ।

‘मैले ल्याएकी छु । लामै लेख लेखेको छ । फोटो पनि दिएको छ,’ श्रीमती भन्छिन् ।

‘फ्रिडम हाउसको फोटो ?’ म प्रश्न गर्छु ।

‘हो । राम्रो आएको छ । हाम्रो घर फुटेको, चर्केको र फाटेको प्रस्टसँग आएको छ,’ श्रीमती भन्छिन् ।

म अखबार हेर्छु । फ्रिडम हाउसको बयान पढ्दा मेरो आँखामा आँसु आउँदैन । मेरा आँखा सुक्खा भएका छन् । त्यो युवकका लागि फ्रिडम हाउस केही क्षण भएको छ । हाम्रा लागि भने यो फ्रिडम हाउस जीवन बिताउने थलो भएको छ ।

(शिखा बुक्सद्वारा प्रकाशित सापकाेटाकाे कथासंग्रह ‘विचारकाे लास’ साेमबार विमाेचन हुँदैछ ।)

प्रतिक्रिया दिनुहोस्

LIVE TV