१८ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । तीन नम्बर प्रदेश सरकारले आर्थिक वर्ष ७५/७६को लागि सुरुङ मार्ग र प्रदेश चक्रपथलाई प्रदेश गौरवको योजना बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग र पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली र काभ्रे)लाई प्रदेश गौरवका योजना बनाउने महत्वाकांक्षी लक्ष्य लिएको छ ।

एक पालिका एक विशेष उत्पादन, मावि शिक्षा निःशुल्क र अनिवार्य, प्रदेश विद्युत लगानी बोर्ड, प्रदेश पर्यटन परिषद, २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउने सरकारको योजना छ । स्थानीय तहमा १५ देखि ५० शैय्याको अस्पताल, सदरमुकामदेखि गाउँपालिका वा लोकमार्ग जोड्न पाँच वर्ष्भित्र कालोपत्रे गर्ने गरी मुख्यमन्त्री ग्रामीण सडक योजना अघि सारेको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमो सत्ता पक्षले बचाउ गर्दा प्रतिपक्षले नीति तथा कार्यक्रम ठोस नभएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सांसद इन्द्र बानियाँले सबै क्षेत्रलाई नारामा अटाएको भए पनि योजना ठोस ढंगले ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

चित्त बुझाउन ल्याएको नारालाई प्रदेश सरकाले बजेटमा कसरी रुपान्तरण गर्छ भन्नेमा चासो रहेको उहाँको भनाई थियो । राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले केन्द्रको नक्कल गर्दै कार्यक्रम प्रस्तुत भएको दावी गर्नुभयो ।

आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भोलिदेखि छलफल सुरु हुनेछ । नीति तथा कार्यक्रममा सांसदले राखेको संशोधनपछि मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV