१८ जेष्ठ २०७५, शुक्रबार
  • छवि बगाले

काठमाडाैँ। काठमाडौंमा शुक्रबारदेखि ‘दोस्रो हिमालयन ट्राभल मार्ट’ शुरु भएको छ । सन् २०३० सम्ममा नेपालमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यको साथ सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालमा पर्यटक आगमनलाई बृद्धि गर्नका लागि ‘दोस्रो हिमालयन ट्राभल मार्ट’ को आयोजना गरिएको छ । पहिलो ‘हिमालयन ट्राभल मार्ट’को सफलतापछि दोस्रो मार्टको आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड र प्यासीफीक एशियन ट्राभल एशोसियसन (पाटा) ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधारको विकासमा जोड दिनु आवश्यक रहेको भन्दै नेपाल विश्वभरीका पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु भएको बताउनुभयो । उहाँले नेपाल विश्वमा पर्यटकका लागि उत्तम आकर्षण स्थल रहेको र पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार भएको प्रष्ट पार्नुभयो ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा पर्यटन सम्बन्धि अनुभव साटासाट गर्नलाई विश्वभरका पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको छ । सम्मेलनको पहिलो दिन आज हिमालयन ट्राभल मार्ट कन्फेरेन्सको आयोजना गरिएको छ । कम्फेरेन्समा सन् २०३० सम्ममा ५० लाख विदेशी पर्यटक नेपालमा भित्र्याउने लक्ष्य लिइएको छ । नेपालको हिमाली पर्यटन उद्योगमा बीटुबी सेसनले विभिन्न देशको अनुभव साटासाट गर्ने सम्भावना रहेको आयोजकले जनाएको छ । सम्मेलनको दोस्रो र तेस्रो दिन अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फरेन्स र विजनेस सेसन सञ्चालन हुनेछ । ०००

प्रतिक्रिया दिनुहोस्

LIVE TV