१७ जेष्ठ २०७५, बिहीबार

आज फरक प्रसंगमा कुरा गर्न मन छ । मुलुक समृद्ध होस् भनेर सरकारले भनिरहँदा बजेट पनि समृद्धिलार्ई नै लक्षित गरेर प्रस्तुत भइरहँदा एउटा कुरा बिर्सिएको देखिन्छ कि समृद्धि हाँसिल चाही हुन्छ कसरी ?

हाम्रो शिक्षा प्रणालीले घोकन्तेहरुलाई बिद्धान बनाउँछ तर समाज अघि बढ्न डाक्टर, इन्जिनियर, प्रोफेसर, पाइलट, इकोनोमिष्ट जस्ता पढ्दा पढ्दा सर्वश्व ज्ञान लिएका मानिसहरु मात्रै भएर पुग्छ ? विद्धान भनेको तालुमा विउ पनि नरहने गरी रौ सकिएका मानिस मात्र गनिन्छन् त ?

यो विद्धानको परिभाषा कसले यस्तो बनायो ? झन त्यसमाथी अंग्रेजी बोल्न जान्नेको भाउ त अकबरी सुन जस्तो । भाषा भनेका भाषा हो कम्युनिकेशनको माध्यम हो, ज्ञान होइन । अंग्रेजी जान्नु, विद्धान हुनु होइन, त्यसो भए त युरोप अमेरीका तिर बच्चा बच्चाले अंग्रेजी बोल्छन् ति २ बित्ते फुच्चेहरु सब ज्ञानी हुन, विद्धान हुन ?

जापान, कोरीया, चाइना तिर देउता खोज्न सजिलो होला अंग्रेजी बुझ्ने मानिस खोज्न गाह्रो छ । के जापान, कोरीया, चाइनामा विद्धान नै छैनन ? विना विद्धान ति देशहरु समृद्धिको शिखर कसरी पुगे होलान त ? शिक्षा प्रणालीमा व्यापक सुधार चाहिन्छ । जबरजस्ती घोक्न लगाएर मानिसलाई एकेडेकिल्ली मात्र विद्धान बनाउन खोज्दा एकाँध विद्धान बनाइएला, बाँकी अंग्रेजी बोल्न जान्नेले एनजीओ सेनजीओमा जागिर पनि खालान तर मुलुकको समृद्धिको सपना साकार हुँदैन ।

एउटा इलेक्ट्रीसीटीको काम गर्ने मान्छे विद्धान हो । आधुनीक प्लम्बिङ सिकेको प्लम्बर आफ्नो क्षेत्रको ठुलो विज्ञ हो, तर खोइ पढाएको ? प्लम्बिङ भनेको फुट्या धारा बनाउने बाथरुम जाम भयो भने खोल्ने मान्छे मात्र होइन । खोई युनीर्भसीटी लेवलको वा हाइ क्लास तालिम ?

डकर्मी विज्ञ हो , सिकर्मी विज्ञ हो तर नयाँ प्रविधी र नयाँ औजारहरुसहितको शिक्षा र तालिम दिने ठाँउ खोइ ? यो देशमा एउटा राम्रो प्लम्बरले राम्रो डाक्टरले भन्दा बढी कमाउँछ, कित बाँजी राख्ने ? ए बाबा मलाई म्याथ नै आउँदैन, साइन्स भन्ने वित्तीकै भन भन रिङगटा लाग्छ, म मेकानिक हुन नपाउने ?
मेरो बाउ ज्यादै धनी, ज्यादै इज्ज्तदार भन्दैमा मेरो दिमाग कम्युटर जस्तो हुने हो र ? हिसाब भन्यो कि पिसाब आउँछ, कसरी बन्नु इन्जियनर ? देशलाई हर क्षेत्रका विज्ञ चाहिन्छ ।

प्राविधिक शिक्षा दिइएन, समाजमा रहेको विभिन्न पेशाहरु बारे पढाइएन, सिकाइएन र त्यस्ता कोर्सहरु पढ्न चाहनेहरुलाई प्रोत्साहन् दिइएन भने जहिले पनि विद्धान भनेको किताबै किताब पढेका र फरर अंग्रेजी बोल्नेहरु मात्र भनेर चिनिन्छन् ।

अर्को कुरा देशमा सानो काम गर्न लाज मान्ने हामी नेपालीहरु विदेशमा शानले भन्छौ काम भनेको काम हा,े सानो ठुलो हुँदैन । घरमा आँफुले खाएको थालसमेत आमालाई उठाउन लगाइयो, विदेशमा अरुले खाएको प्लेट उठाउन मात्र होइन माझ्न र टिलिक्क टल्काउन बाध्य भइयो ।

यति सून्दा चित्त नदुखाउनु होला । देशमा त्यती ठुलो अवसर पक्कै छैन तर घरखेत बेचेर विदेश जानेहरुले फर्केर त्यही घरखेत किन्न नसकेको पनि देखेको छु, अनि लाज नमानिकन, बाटोमा मकै पोल्ने, पानीपुरी बेच्ने, जुत्ता पालिस गर्ने, वदाम बेच्ने, मःम, चाउमीन बेच्ने, बालुवा चाल्ने, इटा बोक्ने, फलफुल, तरकारी बेच्नेहरुले केही बर्षमै घर खेत जोडेको पनि देखेको छु ।

घरखेत बेच्नेहरु परिवारसँग टाढा, आफन्तसँग टाढा, चर्को घाम र चर्कै व्याज । घरबार जोड्नेहरु परिवारसँग, शिरमा बाआमको आशिर्वाद, अंगालोमा आफ्नो मायाल,ु काखमा आफ्नो बाल बचेरा । शिक्षा गलत छ, विज्ञ र विद्धानको परिभाषा बदलौँ जब मात्र देश बदलिन्छ । रेल र पानी जहाज त कंगो भन्ने हरीतन्म गरीब देशमा पनि छ तर शिक्षा प्रणाली सहि नभएपछि जनताको सुख, सुविधा, सबका सब उडायो रेलैले भन्ने गीत जस्तै हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV