१६ जेष्ठ २०७५, बुधबार

भक्तपुर । भक्तपुर जिल्लाका विभिन्न सडकहरुको स्तरोन्नति कार्य निकै सुस्त गतिमा भइरहेको छ । ठेक्केदार कम्पनीले स्तरोन्नतिको ठेक्का लिएर काम नगर्ने प्रवृत्तिले गर्दा काममा ढिलाई हुने गरेको हो ।

ठेकेदारकोे लापरवाहीका कारण भक्तपुरमा सडक स्तरोन्नतिको कार्य जहीको त्यही छ । चार वर्ष अगाडि शैलुन कन्स्ट्रकसन कम्पनीले कमलविनायक–नगरकोट सडकखण्डको १८ किलोमिटर सडक दुई बर्षभित्र सम्पन्न गर्ने गरी ठेक्कामा लिएको थियो । म्याद सकिएको दुई वर्ष वित्दा ४३ प्रतिशत मात्रै काम सकिएको छ ।

काम सम्पन्न गर्ने म्याद सकिसक्दा पनि सरकारले निर्माण कम्पनीको माग अनुसार म्याद थप्नु दुर्भाग्यको पक्ष बनेको छ । ठेकेदार काम गर्न ढिलो गर्ने, ठेक्का सम्झौताको म्याद गुजार्ने र पुनः सरकार बजेट बढाउदै सोही ठेकेदार कम्पनीलाई समय थप्दै जाने प्रवृतिले स्तरोन्नतिको काम समयमा नै हुन सकेको छैन । जसले गर्दा स्थानीय जनता र यात्रीले सास्ती भोग्नु परिरहेको छ । नगरकोट सडक मात्रै नभई भक्तपुरमा सडक विस्तारको लागि ठेक्का लिएर कतिपय ठेकेदार सम्पर्कविहीन हुने गरेका छन् ।

लोहनी एण्ड ब्रदर्स/लालीगुँरास जेभीले कमलविनायक बसपार्कदेखि होगाँ पल्चा सम्म, पेप्सीकोला, सल्लाघारी सडक विस्तार २०६८ सालमा ठेक्का लिए पनि पूरा गरेको छैन । त्यस्तै २०७० सालमा सुनौला खिम्ती कन्स्ट्रकक्सनले जिम्मा लिएको लोकन्थली हेल्थपोस्ट रमाइलो चोक चाइल्ड नेचर स्कुल र बप्फा पाटी विहार बहाखा बजार सडक विस्तार पनि पूरा भएको छैन । ठिमी चार दोबाटो बालकोट चोक सडक स्तरोन्नति काम जिम्मा लिएको श्री बल्ड बाईड÷बिष्णु जेभी कम्पनीले कुनै काम गरेको छैन ।

यही आर्थिक वर्षभित्र सम्पन्न हुनुपर्ने बहाखा बजार मोनहरा पुलसम्मको सडक निर्माण काम ६० प्रतिशत सकिएको छ । ब्यासी चोक काडाँघारी झौखेल मानदेव सडकखण्डको ७५ प्रतिशत निर्माण सकिएको छ भने गत वर्ष नै सम्पन्न हुनु पर्ने कौशलटार बालकोट विरुवा सडक खण्डको काम ८५ प्रतिशत मात्र सकिएको छ ।

ठेकेदार कम्पनीहरुको माग अनुसार म्याद थप्दै जाने सरकारी प्रवृत्तिको अन्त्य नभएसम्म सडकको स्तरोन्नतिले कुनै गति नलिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV