१६ जेष्ठ २०७५, बुधबार

श्यामशीतल परियार,

लमजुङ । लमजुङ जिल्लाको ऐतिहासिक एवम् धार्मिक महत्वको बोकेको तार्कुकोट युवाशक्ति नहुँदा ओझेलमा पर्दै गएको छ । पर्यटकीयका साथै आर्थिक दृष्टिकोणबाट पनि निकै सम्भावना बोकेको तार्कुकोट बसाई सराई सर्नेहरु बढेकोले पनि झनै उराठलाग्दो बन्न थालेको छ ।

आँखै अगाडि देखिने मनमोहक हिमालका फाँटहरु, ऐतिहासिक तथा धार्मिक महत्वको चण्डीमाईको मन्दिर, चण्डीगढी बेसीमा नागबेली चालमा बगेकी मस्र्याङ्दी, दोर्दी, चेपे, पाउँदी र नाउँदी नदीहरु ।

समथर फाँट । सूर्योदय र सूर्यास्तको प्रत्यक्ष दृश्यवलोकन । यत्ति मात्र नभई लमजुङसहित तनहुँ, गोरखाका विभिन्न मनोरम दृश्य समेत आँखै अगाडि झलझलती देख्न पाईन्छ ।

गाउँमा पर्यटन क्षेत्रको विकास हुन सकेको छैन । गाउँमा बस्ती पातलिदैँ गएको छ । भएका युवाशक्ति पनि विदेश भासिएका छन् । गाउँमा वृद्धवृद्धा मात्रै छन् । गाउँमा युवाशक्ति नहुँदा पर्यटन विकासका क्षेत्रमा काम हुन नसकेको स्थानीय सुरज सुनार बताउनुहुन्छ ।

चण्डीगढीबाट लमजुङ हिमाल, मनास्लु हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल देख्न सकिन्छ । गुराँस फुल्ने समयमा यहाँको ऋप सामुदायिक वन रातो र गुलावी गुँरासले राताम्य हुन्छन् । गाउँमा विद्युत, खानेपानी, कच्ची भएपनि सडक पुगेको छ । तर गाउँमा मानिसको बसोबास कम छ । उर्वरभूमि जमिन पाती, वनमासा फुलेर त्यसै खेर गएको छ । मानिसहरु सेवा सुविधाको खोजीमा गाउँ छोड्दै गएपछि अव बिस्तारै गाउँ नै जंगलमा परिणत हुने हो कि भन्ने चिन्ता स्थानीयहरुमा बढ्न थालेको भीम बहादुर सुनारले बताउनु भयो ।

गाउँमा खेतीयोग्य जमिनका साथै पशुपालनका लागि आवश्यक चरण क्षेत्र पनि प्रशस्त छन । गाउँघर छोडी छाना, माना र नानाका लागि मुग्लान पसेका युवाहरु गाउँ सम्झिएर फर्किए यही गाउँमा उन्नतिको पर्दा खुल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV