१५ जेष्ठ २०७५, मंगलवार
  • राजेन्द्र तारकिणी

काठमाडौं । नेपाली सांकेतिक भाषाको अहिलेसम्मकै बृहत् र वैज्ञानिक शब्दकोश सार्वजनिक गरिएको छ । सोमबार राष्ट्रिय नाचघर, जमलमा एक समारोहमाझ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा तथा नेपालका लागि अष्ट्रेलियन राजदूत पेटर बुड्डले उक्त शब्दकोशको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

नेपाली सांकेतिक भाषा शब्दकोशलार्इ पहिलोपटक मोबाइल एपमा समेत विकास गरिएको छ । सोमबार उक्त एपको पनि शुभारम्भ गरिएको हो । समाराेहमा सांकेतिक भाषाकाे डिभिडीका साथै राष्ट्रिय बहिरा महासंघकाे अाधिकारिक वेबसाइट www.deafnepal.org.np  समेत लन्च गरियाे ।

अहिलेसम्मको बृहत् मानिएको ‘नेपाली सांकेतिक भाषा शब्दकोश’मा ४ हजार ७०० सय शब्द समेटिएको राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले जानकारी दिए ।

सबै स्थानीय तहमा सांकेतिक भाषा पहुँच पुर्याउनुपर्ने

विमोचनपश्चात् राष्ट्रिय सभाध्यक्ष तिमिल्सनाले शारिरिक रूपले अपांगताको समस्या झेल्दै आएका समुदायको वृद्धि विकास र शिक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । ‘नयाँ संविधानले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको छ,’ उनले भने, ‘राष्ट्रियसभामा अपांगता व्यक्तिहरुको प्रतिनिधित्व नै भएको छ । यसमा बहिरा र दृष्टिबिहीनको पनि प्रतिनिधित्व हुन जरुरी छ ।’

उनले मुलुकका ७ सय ५३ वटै स्थानीय तहका बहिरा तथा अपांगता भएका बालबालिकाहरू विशेष शिक्षा र भाषाको पहुँचमा पुर्याउन सांकेतिक तथा उचित भाषाको प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरे ।

सांकेतिक भाषा विकासमा तीन दशक

नेपालमा सांकेतिक भाषाकाे विकास भएकाे धेरै भएकाे छैन । पहिलाेपटक नेपालमा सांकेतिक भाषाको शब्दकोश २०४५ मा बनेकाे थियो।

त्यसपछि २०६० मा अनुमोदित सबै शब्द तथा पर्यायवाची सांकेतिक भाषा थप गरी दुई हजार दुई सय शब्द रहेको शब्दकोश प्रकाशित भएको थियो ।

पछिल्लाे शब्दकाेशलार्इ नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय भाषा विज्ञानसँगको सहकार्यमा नेपाल बहिरा महासंघले प्रकाशन गरेको हाे ।

यसको सम्पादन विकास घिमिरे र किरण आचार्यले गरेका हुन् । पछिल्लाे शब्दकाेशसम्म अाइपुग्दा नेपाली सांकेतिक भाषा निकै परिस्कृत र विस्तार हुँदै गएकाे सम्पादक घिमिरेले बताए ।

माेबाइल एप कसरी डाउनलाेड गर्ने ?

एन्ड्रोइड भर्सनको माेबाइल एप डाउनलाेड गर्नका लागि गुगल प्ले स्टाेरमा गएर ‘डिफ नेपाल एनएसएल लर्निङ’ टाइप गरी एप सर्च गर्न सकिनेछ । एप्लिकेशन डाउनलाेड गरी माेबाइलबाटै सांकेतिक भाषाकाे अाधारभुत ज्ञान लिन र शब्दहरूकाे अर्थ थाहा पाउन सकिने सुविधा छ ।

शब्दकोशमा भएका ४ हजार ७०० शब्दमध्ये ४ हजार ३०० शब्दको अर्थ, संकेत, उदाहरणसहितको भिडियो एपका रूपमा याे एप दर्ता भइसकेको अध्यक्ष अधिकारीले बताए ।

डाउनलाेडका लागि याे लिंकमा जान सक्नुहुनेछ नेपाली सांकेतिक भाषाकाे माेबाइल एप

प्रतिक्रिया दिनुहोस्

LIVE TV