१४ जेष्ठ २०७५, सोमबार

काठमाडौँ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले एघारौँ गणतन्त्र दिवसका उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

दसौं गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले लोकतन्त्रको मूलमन्त्र नागरिक सर्वोच्चता भएको उल्लेख गर्नुभएको छ ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन र सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास राज्यको प्रमुख लक्ष्य र गन्तव्य बनेको उल्लेख गर्दै समृद्धिको सपना चाहँदैमा स्वतः यथार्थमा रुपान्तरित हुन नसक्ने रहेछ भन्ने विगतको अनुभवलाई हेक्का राख्न सुझाव दिनुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “शासन प्रणालीको कुशल व्यवस्थापन र सञ्चालन, जनताको राष्ट्रप्रतिको प्रेम र समर्पण एवं सिंगो राष्ट्रको कटिबद्धता र प्रतिबद्धता भएमा समृद्ध राष्ट्रको परिकल्पना साकार पार्न पनि सफल हुनेछौँ भन्नेमा विश्वस्त हुन सकिन्छ ।”

पूर्वअध्यक्ष रेग्मीले विपन्न, निमुखा र अवसरको पहुँचबाट वञ्चित जनतालाई अनुभूत हुने गरी सम्बोधन गर्नसकेमात्र गणतन्त्रको प्रतिफलको महसुस हुने उल्लेख गर्दै नवीन सोच र सिर्जनशीलताका साथ शान्त, समृद्ध र सुदृढ राष्ट्र निर्माणमा सक्रियताका साथ लाग्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV