१३ जेष्ठ २०७५, आईतवार

हरिशजङ्ग क्षेत्री

काठमाडौ ।  प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आज देखि राजधानीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आइतबार किर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल र प्रदेश नम्बर ७ ले बिजय सुरुवात गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफले प्रदेश नम्बर ४ लाई ५ विकेटले पराजित गर्दा मुलपानीको माथिल्लो क्रिकेट मैदानमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर ६ लाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छन ।

आइतबार बिहान भएको प्रतियोगिताको पहिलो खेलमा टस जित्दै पहिलो ब्याटिङ गरेको प्रदेश ४ ले पचास ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा २३९ रनको योगदान तयार पार्दा ४ नम्बर प्रदेशका हरि चौहानले सर्वाधिक ५७ रन प्रहार गर्दै प्रतियोगिताको पहिलो अर्ध बनाउदा, कप्तान बिधान श्रेष्ठले ४३ रन बनाएका थिए । बलिङतर्फ एपीएफका कमल सिह ऐरीले ३ विकेट, अमर सिह रौटेलाले २ विकेट झट्काएका थिए ।

२४० रनको बिजय लक्ष्यका साथ मैदान आएको एपीएफले ३६ दशमलव ३ ओभर ५ विकेट गुमाएर लक्ष्य भेटेको थियोे । एपीएफका लागी युवा क्रिकेटर रोहित कुमार पौडेलले ४१ बलमा १० चौका, ३ छक्काको मद्दतले नटआउट ७३ रनको उत्कृष्ट खेल्दै एपीएफलाई जित दिलाउदा, पृथु बास्कोटाले ५३ रन, सुबास खकुरेले ४८ र प्रदीप ऐरीले ३४ रनको योगदान दिएका थिए । बलिङतर्फ प्रदेश ४ का बलरहरुले खासै राम्रो गर्न सकेनन् । आजै भएको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश ७ ले ३१ दशमलव ३ ओभर सबै विकेट गुमाए १२५ रनको झिनो लक्ष्य तयार पारेको थियोे ।

७ नम्बरका लागि सन्जु धामीले ५४ रनको अर्धसतकिय पारी खेल्दा सुरेन्द्र चन्द बादशाले २५ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोर अंक छुन सकेनन् । बलिङतर्फ ६ नम्बरका टेक सलामी ८ ओभरमा १२ रन खर्च गर्दै ५ विकेट, दिनेश पुनले २ विकेट लिएका थिए । १२६ रनको बिजय लक्ष्यका साथ मैदान आएको ६ नम्बर प्रदेश २२ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनले हार बेहोर्न पुग्यो । ६ नम्बरका लागी कप्तान रबिन्द्र शाहीले सर्वाधिक २९ रन जोड्दा, दिवन पुनले १३ रन बनाएका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् फलस्वरूप ४८ रनको हार बेहोर्नु पर्‍यो ।

बलिङतर्फ ७ नम्बर प्रदेशका शेर मल्लले ५ विकेट, कप्तान सन्तोष भट्ट र बिनोद लामाले २ विकेट प्राप्त गरेका थिए । पहिलो खेलका म्यान अफ दि म्याच एपीएफका रोहित पौडेल चुनिदा, दोस्रो खेलका म्यान अफ दि म्याच सात नम्बर प्रदेशका शेर मल्ल चुनिएका थिए । आइतबारबार देखि सुरु भएको प्रतियोगिता २९ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेता टोलिले २० लाख, उपविजेताले १० लाख नगत रुपैयाँ हात पार्नेछन् । भने प्रतियोगिताको म्यान अफ द सिरिजले १ लाख, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०/५० हजार नगद रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ३ बिभागीय टोलि सहित सात प्रदेशका ७ टिम गरि १० टोलिको सहभागीता रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV