१३ जेष्ठ २०७५, आईतवार

काठमाडौं । दुई नम्बर प्रदेश सरकारलाई विश्वासको मत दिएका तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका छन् ।

सरकारको सय दिनको उपलब्धि शून्य रहेको, प्रतिपक्षीको मानमर्दनसमेत गरिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणक्रममा आफूहरुलाई वेवास्ता गरिएको भन्दै हाल नेपाल कम्यूनिष्ट पार्टीबाट प्रतिनिधित्वि गर्ने सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

बजेट अधिवेशन सुरु भएको पहिलो दिन आजै तत्कालीन दुवै दलका संसदीय दलका नेताले दलगत धारणा राख्दै लालबाबु राउत नेतृत्वको सरकारलाई समर्थन फिर्ताको निर्णय गरिएको प्रदेशसभालाई अवगत गराएका थिए ।

मुख्यमन्त्री राउतले बोल्न समय मागे लगत्तै नेकपाका सांसदले विरोध सुरु गरेपछि बैठक अबरुद्ध भएको थियो । नेकपाले समर्थन फिर्ता लिए पनि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त सरकारले बहुमत गुमाउने छैन ।

एक सय ७ सदस्य रहेको प्रदेशसभामा एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ११ सांसद छन् । जेठ ३ गते कांग्रेसलाई प्रमुख विपक्षी दलको रुपमा मान्यता दिएपछि तत्कालिन एमाले र माओवादी केन्द्रले विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV