१३ जेष्ठ २०७५, आईतवार

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएसँगै जेठ सात गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रम आजको संसद बैठकले पारित गरेको हो । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ ।

नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल र राजपा नेपालका अनिलकुमार झाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृति भएको थियो । यसअघि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधाननमन्त्री ओलीले नीति तथा कार्यक्रम महत्वकांक्षी रहेको स्वीकार्दै तीब्र विकास र समृद्धिको लक्ष्य लिएको तथा संभव हुने महत्वकांक्षा मात्रै समेटिएको दावी गर्नु भएको थियो । नीति तथा कार्यक्रमले सम्पूर्ण नेपालीको समृद्धि र विकास प्रतिको आकांक्षा समेटेको प्रधानमन्त्रीको जिकीर थियो ।

सरकारको विरोध गर्नैपर्छ भन्ने मानसिकताबाट माथि उठ्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएका प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम, योजना, लय र गति बुझ्न विपक्षी दललाई केही समय लाग्ने भन्दै व्यङ्ग्य गर्नुभयो । आफ्ना योजनालाई ‘दिवास्वप्न’ भनेकोप्रति असन्तुष्टि जनाउनु भएका प्रधानमन्त्रीले पानीजहाज, रेललगायतका महत्वकांक्षी विकास योजनालाई मजाकको विषय बनाइए पनि पूरा गरेरे छाड्ने दृढता दोहो¥याउनु भयो ।

सरकार हरेक समस्या समाधान गर्नेमा विशेष जोड दिनुभएका प्रधानमन्त्री ओलीले आवश्यकता, देश तथा जनताको माग र त्यतिबेलाको शक्तिले निर्धारण गरेअनुसार संविधान निर्माण र संशोधन हुने स्पष्ट पनि पार्नुभयो ।

नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय नआएको भन्दै केही सांसदले टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा गरिने संविधान संशोधन नीति तथा कार्यक्रममा उल्लेख गर्नुको तुक नहुने स्पष्ट पार्नुभएको हो ।

नीतिलाई लक्ष्य, योजना र कार्यक्रममा बदलेर कार्यान्वयन गरिने बताउनु भएका प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिइने, व्यापारघाटा न्यूनिकरण गर्न बजेटले थप स्पष्ट व्यवस्था गर्ने तथा सुशासन र स्वच्छता अभिबृद्धि र भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिवद्ध रहने पनि दोहो¥याउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV