१३ जेष्ठ २०७५, आईतवार

एजेन्सी :

उत्तर कोरिया तथा दक्षिण कोरियाका शिर्ष नेताबीच अाकस्मिक भेटवार्ता भएकाे छ । उत्तर कोरियाली सर्वाेच्च नेता किम जङ-उनले दक्षिण काेरियाली नेता मुन जे-इनसँग पहिलाेपटक भेटेकाे चार हप्ताभित्रै दोस्रो भेट गरेका हुन्।

शनिबार नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि पौने दुई बजेको बिच करिब २ घण्टासम्म चलेकाे उक्त भेटवार्ताले पुनः नयाँ अाशा जगाएकाे छ । यस भेटले उत्तर कोरिया अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेकोतर्फ संकेत गरेकाे अन्तर्राष्ट्रिय समाचार माध्यमहरूकाे विश्लेषण छ।

यसअघि अाउँदाे जूनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग हुने भनिएकाे शिखरवार्ता अचानक  स्थगन गरिएको घाेषणा ह्वाइट हाउसले गरेकाे थियाे । तर स्थगित शिखरवार्ता अन्ततः हुन सक्ने भन्दै अमेरिकी राष्ट्रपतिले पुनः संकेत गरेका छन् । उनले यस्ताे संकेत गरेकाे भोलिपल्टै दुई कोरियाका नेताबीच अाकस्मिक बैठक भएको हो।

दुई देशको सीमाबीच रहेको सैन्य गतिविधि निषेधित क्षेत्रमा भएको साे बैठक अप्रत्याशित रुपमा भएको बताइन्छ । यसअघि कोरियाली प्रायद्वीपमा अमेरिका तथा दक्षिण कोरियाले हालै गरेको संयुक्त सैन्य अभ्यासप्रति प्योङयाङले विरोध जनाएको थियो, जसका कारण दुर्इ काेरयाबीच सम्बन्ध पुनः बिग्रन लागेकाे हाे कि भन्ने परेकाे थियाे ।

शनिबारकाे भेटवार्तालार्इ अमेरिकासँग सम्बन्ध सुधार गर्न तथा दुई कोरियाले सहकार्य गर्नका लागि गरेको प्रयासको एउटा संकेतका रूपमा हेरिएकाे छ।

प्राविधिक रुपमा युद्धकै स्थितिमा रहेका दुई कोरियाबीच यसअघि गत अप्रिलमा पहिलो ऐतिहासिक बैठकले उनीहरूबीचको सम्बन्धमा सुधार आइरहेको स्पष्ट संकेत दिएको थियो। उत्तर काेरिया अमेरिकासँग समेत सम्बन्ध विस्तारकाे प्रयासमा रहेका बेला भएकाे यस अाकस्मिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV