११ जेष्ठ २०७५, शुक्रबार
  • रामहरी श्रेष्ठ,

ओखलढुंगा । ओखलढुंगेलीवासीको बिजुली वाल्ने सपना १७ बर्षपछि पूरा भएको छ । खोटाङको बुइपा हुँदै ओखलढुंगा सदरमुकाम सम्म जोड्ने ३३ केभी विद्युत प्रशारण लाइन जडानको काम सकिएसंगै ओखलढुंगावासीको सपना साकार भएको हो ।

बारम्बारको विवाद र आयोजनाको ढिलासुस्तीका कारण २०५७ सालदेखि सुरु भएको आयोजना सम्पन्न हुन १७ वर्ष लागेको हो । आयोजना सम्पन्न भएपछि अहिले ओखलढुंगाको मोलुंग खोलाबाट उत्पादित विद्युत समेत केन्द्रीय आयोजनामा जोडिएको छ । हाल जिल्ला सदरमुकाम र आसपास क्षेत्रमा विद्युत विस्तार कार्य धमाधम सुरु भएको छ । बाह्र बर्षपछि बगेको खोला समेत फर्कन्छ भन्ने दन्ते उखानलाई साबित गर्दै डेढ दशक पछि उज्यालो बत्ती मुनी बस्न पाउने भएपछि स्थानीयवासीले खुशी ब्यक्त गरेका छन् ।

यस अघि आयोजनाले बुइपा–ओखलढुंगा खण्डमा पोल गाडिएको १५ वर्षसम्म तार टाँगिएको थिएन । चौतर्फी दवावपछि दुई वर्षदेखि आयोजनाको कामले गति लिएको होे । १७ वर्ष लगाएर आयोजना सम्पन्न गरिएको ३३ केभी प्रसारण लाईनका अपरेटर अबिन्द्र राईले बताउनुभयो ।

उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्मको प्रशारण लाइनमा सुधार र बुइपा सब स्टेशनमा चार्जको काम सकिएपछि ओखलढुंगातर्फको कामले तीव्रता पाएको हो । ओखलढुंगा खण्डमा सदरमुकाममा विद्युत वितरणका लागि सब स्टेशन समेत निर्माण गर्नु पर्ने भएकाले समयमा सब स्टेशनको काम नहुँदा आयोजना प्रभावित बनेको थियो । सब स्टेशन बनेपछि प्रशारण लाइन स्टेशनमा जोडेर अन्यत्र विद्युत वितरण गरिएको छ । यससंगै सिद्धिचरण नगरपालिका लगायतका अधिकांश आयोजना प्रभावित क्षेत्रमा विद्युतीकरणको काम समेत सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV