‘अलैँचीबाटै कमाइ गरेँ र सम्भावना पनि देखेँ’



प्रकाशित मिति : May 25, 2018

तेह्रथुम : विसं २०३५ तिर अलैँची खेती गर्ने चलन शुरु हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ६३ वर्षीय डिल्लीराम ढकाललाई केही थाहा थिएन । अलैँचीे खेती गरेर बिहान बेलुकाको छाक सकिन्छ भन्ने उहाँलाई विश्वासै थिएन ।

गाउँका अन्यले अलैँची खेती थालेपछि ढकालले पनि लहलहैमा खेती शुरु गर्नुभयो । तिनै व्यक्ति अहिले अलैँची खेतीमा व्यस्त हुनुहुन्छ । उहाँ बिहानदेखि साँझसम्मको समय अलैँची बगानमा स्याहार गरेर बिताउनुहुन्छ । अहिले ढकालको अलैँचीबाहेक अरु कुनै खेती छैन ।

“आम्दानीको मुख्य स्रोत भनेकै अलैँची हो,” उहाँले भन्नुभयो । अलैँची खेतीबाटै अब आफ्नो परिवारको जीवन चल्छ भन्ने ढकालको बुझाइ छ । अलैँची नै उहाँको जीवनको आशा र भरोसा हो । ढकालले अलैँची खेतीमा सपना सजाउनुभएको छ । अलैँची खेती गर्दै करीब चार दशक बिताउनुभएका उहाँले अहिले आफूसँग भएको सबै ५० रोपनी जमिनमा अलैँची खेती लगाउनुभएको छ ।

“अलैँचीबाटै कमाइ गरेँ र सम्भावना पनि देखेँ”, उहाँ भन्नुहुन्छ, “सबै जमिनमा अलैँची खेती लगाएको छुँ ।” उहाँले आफूसँग भएका बारीमा समेत अलैँची खेती लगाउनुभएको छ । विसं २०४० सालतिर अलैँची प्रतिमन रु ३०० देखि रु ४०० मा कारोवार हुन्थ्यो । अन्य बालीभन्दा कम जनशक्ति लाग्ने, थोरै चिस्यान जमिन भए राम्रो उत्पादन हुने, धेरै मेहनत गर्नु नपर्नेलगायत कारणले त्यसबेलादेखि क्रमशः अलैँची खेतीमा आकर्षित भएका ढकालले पहिलोपल्ट १० मन अलैँची फलाउँदा प्रतिमन रु २८ हजारका दरले मूल्य पाउनुभयो ।

पाँच वर्षयता आफूले अलैँची मात्रैको व्यावसायिक खेती गरेर आम्दानी लिने बाटोमा लागेको ढकाल बताउनुहुन्छ । “यही खेतीबाट जीवनमा थोरै आर्थिक प्रगति मिल्यो,” उहाँले भन्नुभयो, “त्यसैले सजिलो र राम्रो सम्भावनासमेत भएको बाटोका रुपमा अलैँचीलाई रोजेको हुँ ।”

केही वर्षयता अलैँचीमा देखिएका विभिन्न प्रकारका रोगको संक्रमणले हैरान बनाएको ढकाल बताउनुहुनछ । ढकाल अलैँचीका समस्या समाधान गर्दै खेतीमा कुनै निराशा नराखी निरन्तर लागिरहनुभएको छ । बगानको स्याहार सुस्याहारका लागि उहाँ आफैँ खटिनुहुन्छ । ढकालका छोरा र बुहारी पनि अलैँची बगानकै स्याहारमा खटिन्छन् । थप स्याहारका लागि एकजना अस्थायी कामदार राख्नुभएको छ ।

“यसवर्ष अलैँचीबाट रु तीन लाख आम्दानी गरेँ,” ढकालले भन्नुभयो । अलैँची खेतीका कारण परिवार चलाउन कुनै सकस नभएको उहाँको भनाइ छ । अन्नबाली लगाउने जमिनमा अलैँची खेती लगाउनुभएका ढकाल भन्नुहुन्छ, “पहिले धान फलाउने प्रतिष्पर्धा हुन्थ्यो, अहिले अलैँची कसले धेरै फलाउने भन्ने प्रतिष्पर्धा छ ।”

सिंगो गाउँ अलैँची खेतीमा लागेको छ । अलैँचीको खेती प्रविधिबारे रेडियोबाटै थाहा पाएको ढकालले बताउनुभयो । अलैँची खेतीका समस्या र सम्भावनाबारे थाहा पाएपछि आफूलाई अझै व्यावसायिक रुपमा काम गर्न थप प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ । अलैँची गुणस्तरीय नहुँदा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नसकिएको भन्दै उहाँले अलैँचीको गुणस्तर कायम राख्न आफू र गाउँका धेरै किसान सक्षम भएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com