‘सुनकाण्ड’का नाइके गोरेको बयान दुई दिनमा पनि सकिएन, आज पनि बयान लिइने



प्रकाशित मिति : May 25, 2018

विराटनगर । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङले बयान लिइरहेको छ । लगातार दुई दिन बयान लिँदा पनि ‘गोरे’कोे बयान सकिएको छैन । बुधबार र बिहीबार बयान लिदाँ  पनि नसकिएपछि आज (शुक्रबार) पनि जारी रहने अदालतले जनाएको छ ।

मंगलबार पक्राउमा परेका उनको बयान बुधबारदेखि सुरु भएको थियो । बुधवार पाँच घण्टा जिल्ला अदालतले मोरङले गोरेको बयान लिएको थियो । बुधवार बयान बयानमा गोरेलाई १५३ पृष्ठको अभियोगपत्र सुनाइएको र अभियोगपत्रमा उल्लेख गरिएका ६३ जना व्यक्तिसँगको सम्बन्ध र चिने नचिनेको विषयमा सोधिएको बताइएको छ।

बिहीबार बिहान १० बजेदेखि सुरु भएको बयान साँझ ५ बजेसम्म जारी रह्यो । उप्रेतीले १६ पृष्ठको बयान दिएको बताइएको छ । उनले बुधबार बयानका लागि उपस्थित भएपछि आफू असुरक्षित महसुस गरिरहेकाले मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा बस्नुपर्ने भनी अदालतसँग माग गरेका थिए ।

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो । उप्रेती पक्राउमा परेपछि अब फरार आरोपीको सङ्ख्या ३२ रहेको छ ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशानुसार कारागार पठाइएकामध्येबाट एक जना पूर्वप्रहरी नायव महानिरीक्षक र पाँच निलम्बित प्रहरी अधिकारी गरी छ जना छन् । जिल्ला अदालतले वैशाख १९ गते ६३ जनामाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० पैसा १३ बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com