मध्ययुगिन शैलीको झल्को दिने कुप्रथाले अझै पनि मुगुलाई छोडेन



प्रकाशित मिति : May 21, 2018

मध्ययुगिन शैलीको झल्को दिने कुप्रथाले अझै पनि मुगुलाई छोडेन, कथित माथिल्ला जातले तल्ला जात भनाउँदालाई शोषण गर्ने खलोप्रथा अmझै पनि विद्यमान

  • दान बहादुर बुढा,

मुगु । २१ औं शताब्दीमा पनि नेपालका कतिपय स्थानमा १९ औं शताब्दीको झल्को दिने शैलीका कुप्रथाहरु कायम छन् । विशेषत साविकको कर्णाली अञ्चल र पश्चिम नेपालका कतिपय स्थानमा यस्का कुप्रथा कायम रहदा कथित माथिल्ला जातका भनाउँदाले तल्ला जातका भनाउँदामाथि शोषण गर्ने क्रम अझै पनि विद्यमान छ ।

विकट हिमाली जिल्ला मुगुमा कुप्रथाकोरुपमा लिइने गरेको खलो प्रथा कायमै रहेको छ । परापूर्व कालदेखि हुने खाने भनिएका ब्राम्हण , क्षेत्री , शाही , ठकुरीको घर परिवारले कथित तल्लो वर्गका भनिएका सार्की , दमाई , कुमाल , भियाललाई महिनाभर काम लगाएपछि अन्न,लत्ताकपडा दिई चित्त बुझाउने खलोप्रथा कायम रहेपनि यसप्रति अझै पनि कसैलाई खल्लो नलाग्नु उदेकको विषय बनेको छ । चरम श्रमशोषणको रुपमा यो कुप्रथा मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकासहित ३ स्थानीय तहमा कायम नै छ ।

२०६८ सालको जनगणना अनुसार मुगु जिल्लाको कुल जनसंख्याको १९ दशमलव ८ प्रतिशत दलितहरु खलोप्रथाबाट जीवन निर्वाह गर्दै आएका छन् । गरीबिका कारण ठूलो पेशामा फड्को मार्न नसक्नुको मुख्य कारण पनि अधिकांश दलितहरु खलोप्रथामा नै बढी निर्भर हुनुलाई मानिएको छ । छाँयानाथ रारा नगरपालिका बडा नम्बर ६ घुईर गाउँका ३८ बर्षीय जोख्या कामी पुराना भाडा मर्मत र नयाँ भाडा बनाउने गर्दै आएका छन् । जस बापत अन्न,दाल तरकारी ल्याएर ८ जना परिवारको भरणपोषण गरिरहेका छन् ।

बर्षौदेखि समाजमा जरो गाडेर बसेको यस्ता कुप्रथातर्फ स्थानीय तहको भने ध्यान तानिन थालेको छ । जस्लाई सकारात्मकरुपमा लिइएको छ । छायाँनाथ रारा नगरपालिका मुगुका नगर प्रमुख हरिजङ्ग शाहीले बिभिन्न आयमुलक शिपहरुको तालिम दिएर भएपनि खलोप्रथा हटाउन विशेष अभियान थालिने बताउनु हुन्छ ।

देश नयाँ नारा लिएर दौडिन थालिसक्यो । तर मुगुको यो उदाहरणले देशको यथार्थ धरातल अझै पनि कहाँ छ भन्ने प्रष्ट पारेको छ । त्यसैले स्थानीय तहहरुले यसतर्फ ध्यान दिए समाजको कलंककोरुपमा अझै पनि उभिएका अध्याँरो पाटाहरु बढार्न सहज हुनेछ ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com