१ जेष्ठ २०७५, मंगलवार

माेरङ । साढे ३३ किलो सुनकाे तस्करीबाट तानिएका विभिन्न अभियुक्तकाे पक्षमा वरिष्ठ अधिवक्ताहरू लागेका छन् । सुन तस्करी र सनम शाक्य हत्यासँग जोडिएको ‘आपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दामा सोमबार ११ जना वकिलले बहस गरे ।

प्रतिवादी अर्थात् अभियुक्तकाे पक्षमा यसरी एकै दिन ११ जना वकिलले बहस गरेका हुन् । अाइतबारबाट सुरू भएकाे प्रतिवादीका पक्षकाे बहसमा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठलगायतका वरिष्ठ अधिवक्ता समेत रहेका छन् ।

साेमबार अभियुक्तकाे पक्षबाट बहस गर्नेमा कानून व्यवसायी माधवराज आचार्य, दीपक बस्नेत, राम बहादुर राउत, राजेन्द्र भट्टराई, शुरेशलाल श्रेष्ठ रहेका छन् । सुन तस्करी र हत्यासँग जोडिएको घटनाका अभियुक्त एवं नेपाल प्रहरीका निलम्बित डिएसपी प्रजित केसीको तर्फबाट वरिष्ठ अधिवक्तात्रय माधवराज आचार्य, राजेन्द्र भट्टराई र शुरेशलाल श्रेष्ठले बहस गरे ।

त्यस्तै अम्मर बहादुर राउत, योगेन्द्र न्यौपाने, सुनिल कुमार सिंह, राजन प्रसाद फुयाँल, रमिला महर्जन र हरि नारायण चौधरीले समेत साेमबार अभियुक्तहरूकै पक्षमा बहस गरेका छन् ।

यसअघि अाइतबार पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ काठमाडाैंबाट अाएर अभियुक्तहरूकै पक्षमा बहस गरेर फर्किएका थिए । पूर्व महान्यायाधिवक्ता श्रेष्ठले अाइतबार भुजुङ गुरुङ, पूर्वडीआईजी गोविन्द निरौला र निलम्बित एसपी विकाशराज खनालको बचाउ गर्दै बहस गरेका थिए । त्यसैगरी अाइतबार वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि भुजुङ गुरुङ र खनालको पक्षमा बहस गरेका थिए ।

भुजुङ गुरङलार्इ पञ्चायतकालदेखि नै सुन तस्करी गरेकाे अाराेप समेत लागेकाे छ भने हराएकाे साढे ३३ किलाे सुन लुटपाटमा पनि उनकै संलग्नता हुन सक्ने अाशंका गरिएकाे बताइएकाे छ ।

अर्का वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र राजु बस्नेतले समेत सुन तस्करी अभियुक्तहरूको बचाउ गर्दै उनीहरूकाे पक्षमा बहस गर्दै अाएका छन् । सुन व्यापारी भनिएका महाबिर गोल्यान (चाचाजी)को तर्फबाट वरिष्ठ अधिवक्ता योगेन्द्र शर्मा न्यौपाने र अधिवक्ता जगनप्रसाद फुयाँलले साेमबार बहस गरे ।

मुद्दामा आइतबारदेखि प्रतिवादीका वकिलको बहस शुरु भएको थियो र साेमबार दिनभरि नै बहस भइरह्याे । साेमबार ५ बजेपछि समेत दुर्इ वकिलले अभियुक्तकै पक्षमा बहस गरेका हुन् ।  साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्डको थुनछेक बहसको तेस्रो दिनदेखि अभियुक्तका वकिलहरुको बहस शुरु भएको थियाे । यद्यपि बहस जारी रहेकाे छ, जटिल मानिएकाे यस प्रकरणमा अदालत निष्कर्षमा पुग्न समय लाग्ने बताइएकाे छ।

 

LIVE TV