३१ बैशाख २०७५, सोमबार

काठमाडौं । केहिदिन अगाडिसम्म फोहोर अति भयो भन्ने गुनासो आइरहेको वीर अस्पतालले अब चाँडै नै आफ्नो रुपरंग फेर्ने भएको छ । खेम्स क्लिनिङ्गले थालेको एक महिने बीर अस्पताल सफाई अभियानमा धुर्मुस सुन्तली फाउण्डेसनले पनि साथ दिएपछि बीर अस्पतालको रुपको कायापलट नै हुने देखिएको छ ।

बीरशमशेरको पालामा स्थापना भएको ब्ल्याक एण्ड हवाइट बीर अस्पताल रंगिन हुने तयारीमा छ । सोमबार बीर अस्पताल पुग्दा लाग्थ्यो बीर अस्पताललाइ कुनै भब्य समारोहको लागि सजाइदै छ । सरसफाई लगायत रंगरोगनको कामहरु धमाधम भैरहेका थिए । देशका गरीब र बिपन्नले समेत निशुल्क उपचार पाउने बीर अस्पतालका शौचालयहरु टलक्क टल्किन थालेका छन् ।

गत साताबाट खेम्स क्लिनिङ्ग र धुर्मुस÷सुन्तली फाउण्डेशनले वीर अस्पतालको सफाइ अभियान सुरु गरेका थिए । अस्पतालमा भैरहेको सरसफाईले सेवाग्राहीलाई खुशी त बनाएको छ नै अस्पतालका कर्मचारीहरुलाई समेत उत्साहित बनाएको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले १५ देखि २० दिन भित्रमा वीर अस्पतालको सरसफाई र रंगरोगन सक्ने लक्ष्य लिएको बताउनु भयो ।

त्यसो त बीर अस्पताल सरसफाईका लागि करिब ४० कर्मचारी कार्यरत छन् । बीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले बीर अस्पताल पहिले नै सफा नै रहेको र बीर अस्पताल फोहोर भएर सरसफाई गर्न लागिएको नभएर सफाईमा आधुनिक बिधि र अभियन्ताले नमुना स्वरूप बीर अस्पताललाइ सफाई अभियान चलाइएको बताउनु भयो ।

सरसफाईको अभियान सकिए पछि सरसफाइलाई निरन्तरता दिने जिम्मेवारी अस्पतालकै कामदारहरुलाई हस्तान्तरण गरिनेछ । त्यसो त सरसफाई गर्नु भन्दा त्यसलाई निरन्तरता दिनु महत्वपूर्ण हो , यसमा सर्वसाधारणको भूमिका पनि उत्तिकै रहन्छ ।

 

LIVE TV