३१ बैशाख २०७५, सोमबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण क्रममा जनकपुरस्थित जानकी मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको बनावट विगारेकोमा उच्च अधिकारीसँग स्पष्टीकरण मागिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधानको धारा ८ को उपाधारा २ सँग सम्बन्धित अनुसूची १ मा उल्लेख भएभन्दा फरक आकारको राष्ट्रिय झण्डा जानकी मन्दिरमा राखिनुको कारणबारे दुई नम्बर प्रदेशका निमित्त मुख्यसचिव, कानून मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उप–महानगरपालिकाका कार्यकारी अधिकृतसँग स्पष्टीकरण मागेको हो ।

उनीहरुलाई तीन दिनभित्र लिखित जवाफ दिन भनिएको छ । झण्डा विवादबारे शनिवार न्यूज–२४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ले प्रश्न गर्दा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘अनावश्यक प्रश्न’ भन्दै टेलिफोन सम्पर्क विच्छेद गराएका थिए ।

मोदी भ्रमणको क्रममा जानकी मन्दिर परिसरमा राखिएको राष्ट्रिय झण्डाको आकार र प्रकार फरक भएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो ।

LIVE TV