३१ बैशाख २०७५, सोमबार
  • अनुप

कास्की । गृहमन्त्री रामबहादुर थापाले हरेक क्षेत्रमा केही मुठ्ठीभर मानिसहरूको एकाधिकार रहेको भन्दै त्यसलाई तोड्न जरुरी रहेको बताउनुभएको छ ।

बहुसंख्यक जनताको प्रगति रोकिनुमा त्यही एकाधिकार प्रमूख कारण रहेको गृहमन्त्री थापाको दाबी छ । पोखरामा सोमबार विहान पत्रकारसँगको भेटघाटमा विभिन्न क्षेत्रमा देखिएको सिण्डिकेट तोड्ने सरकारको अहिलेको अभियान त्यसतर्फको प्रयत्न भएको बताउनु भयो ।

गृहमन्त्री थापाले देशको अर्थतन्त्र माफियाहरुको हातमा रहेको पनि दोहोर्‍याउनु भयो । देशमा अरबौंको तस्करी हुने गरेको बताउँदै देशको साँच्चै विकास गर्ने हो भने यसको अन्त्य गर्नतर्फ लाग्नुपर्नेमा जाेड दिनुभयो ।

विकास र शान्तिको लागि सुशासन अपरिहार्य रहेको भन्दै सरकार त्यस दिशामा प्रतिबद्ध रहेको उहाको भनाइ छ । साथै मुलुक स्थायी सरकार र  समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोड्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘धार्मिक हिंसा भड्काउने काम पनि भइरहेको छ, क्षेत्रीय नारा दिएर देश विखन्डन गर्ने काम पनि भइरहेको छ । सरकारले ती सबैलाई ठेगान लगाउँछ ।’

महिला हिंसा, बलात्कारदेखि विकासविरोधी गुन्डागर्दी छिट्टै अन्त्य गर्ने पनि बताउनुभयो । थापाले भन्नुभयो  ‘सबै गाउँमा गुन्डाहरुको लिस्ट तयार हुँदैछ । छिटोभन्दा अन्त्य गर्छाैं  । गुन्डागर्दीकै करण कुनै पनि घटना वा विकास निर्माणको काम रोकिँदैन  । ‘

LIVE TV