३० बैशाख २०७५, आईतवार
  • अमर काफ्ले

सुनसरी। कानूनतः बालबिबाह बर्जित भए पनि समाजमा यस्ता समुदाय पनि छन् जहाँ कलिलै उमेरमा बैवाहिक बोझ बोक्नुपर्छ । अझ पीडा त त्यतिबेला हुन्छ, जब कलिली आमा छोरा नपाएको भन्दै तिरस्कारमा परेर घरबाट गलहत्याइन्छिन् । जसको एक उदाहरण हुन् सुनसरी इनरुवाकी १३ बर्षीया ममता मरिक ।

सुनसरीको इनरुवा अस्पतालको शैयामा चार दिनयता एक बालिका उपचाररत छिन् । र, काखमा छ कुपोषित शिशु । नाबालक बच्चाकी आमा १३ बर्षीया ममता मरिक  बच्चालाई काखमा लिने अरु कोही हैन् । ममतालाई आफ्नै स्याहार कसरी गर्ने भन्ने ज्ञान छैन । शिशुलाई स्तनपान गराउन जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहार गर्ने भन्ने पटक्कै थाहा छैन । तर, परिस्थितिले १३ बर्षमै आमा बनाइदिँदा ममताले जन्माइन् कुपोषित शिशु ।

एक बर्षअघि सिरहा गोलबजारका प्रकाश मरिकसँग विवाह भएको थियो ममताको । सन्तान नहुँदासम्म त पारिवारिक सम्बन्ध ठिकै थियो । तर, जव यिनले छोरी जन्माइन, तव आफ्नै परिवार बिरानो भयो । छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिए । खान–लाउन दिएनन् । अन्नतः घरबाटै निकाले ।

घरबाट निकालिएपछि ममता माइतीको शरणमा त पुगिन । तर, दयनीय अवस्थाका बाबु–आमासँग केही गर्ने सार्मथ्य छैन् । बनिबुतो गरेर परिवार पाल्ने बाबु ढोगाई मरिकलाई सुत्केरी छोरी र कुपोषित नातीको अवस्थाले पिरोल्छ । तर, यसै गर्छु भन्ने ठम्याउन सक्दैनन् ।

रगतको अभाव र मुटुको समस्याबाट गुर्जिएकी ममता तथा कुपोषित शिशु बाँच्छन्/बाँच्दैैनन् भन्ने अन्योलकाबीच अस्पतालले दुबैलाई भर्ना लियो । आमा र बच्चाको निःशुल्क उपचार गरिरहेका चिकित्सक ‘डिस्चार्ज’ पछिको यिनको अवस्थामा चिन्तित छन् । बालबिवाहकै कारण संकटमा परेको ममताको जीवन छोरी जन्माएपछि थप संकटमा धकेलियो । ममता पारिवारिक मिलनको पक्षमा देखिन्छन् । तर, श्रीमान सम्पर्कमै छैनन् ।

LIVE TV