३० बैशाख २०७५, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकहरुले विद्युत उत्पादनलाई तीब्रता दिएका छन् । चालु आर्थिक बर्षमा प्राधिकरण र निजी क्षेत्रको सक्रियतामा २ सय मेगावाट विद्युत उत्पादन भएको हो ।

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक बर्षमा २ सय ८ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएपनि हालसम्म एकसय मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकहरुको सक्रियतामा हालसम्म लक्ष्यको आधामात्रै विद्युत उत्पादन भएको हो । प्राधिकरणले नीजि क्षेत्रका प्रवद्र्धकहरुबाट १ सय ६४ मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको थियो । तर चालु आर्थिक बर्षको १० महिनामा नीजि क्षेत्रबाट ७० मेगावाट मात्रै विद्युत उत्पादन भएको प्राधिकरणले जनाएको छ ।

विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) भई निर्माणमा गएका अन्य सात जलविद्युत आयोजनाले आगामी असार मसान्तसम्ममा उत्पादन थाल्ने प्राधिकरणले जनाएको छ । निर्माणाधीन ७ आयोजनाको जडित क्षमता ९५ मेगावाट रहेको छ । यस्तै, नेपाल विद्युत प्राधिकरणले पनि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । प्राधिकरणले यसै आर्थिक बर्षमा १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएपनि त्यो भने पूरा नहुने भएको छ । नेपालमा विद्युतको माग उच्च भएपछि सरकार र नीजि क्षेत्र एकसाथ जलविद्युतको विकासमा अघि बढेका छन् ।

हाल नेपालमा १ हजार २ सय १७ मेगावाट विद्युतको माग भएपनि प्राधिकरणले ३ सय ७२, निजी क्षेत्रले २ सय २ मेगावाट विद्युत उत्पादन गरेका छन् । प्राधिकरणले मुलुकको विद्युत माग धान्नको लागि भारतबाट ४ सय ३३ मेगावाट विद्युत ल्याएपनि अझै माग र आपूर्तिबीच २ सय १० मेगावाटको खाडल रहेको छ ।

LIVE TV