३० बैशाख २०७५, आईतवार

तारा आचार्य
मोरङ।  साढे ३३ किलो सुन तस्करी प्रकरणमा प्रतिवादीहरुको तर्फबाट राजधानीबाट आएका वरिष्ठ अधिवक्ताहरुले थुनछेक बहस शुरु गरेका छन् ।
आइतवार देखि विराटनगरस्थित मोरङ जिल्ला अदालतमा पूर्व महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, राजु बस्नेत र यदुनाथ खनाल गरी ४ जना वरिष्ठ अधिवक्ताहरुले प्रतिवादीका तर्फबाट थुनछेक बहस गरेको अदालतले जनाएको छ ।

उनीहरुले सुन व्यवसायी भुजुङ गुरुङ, पूर्व डिआईजी गोविन्द निरौला र निलम्बित एसपी विकासराज खनालको तर्फबाट बहस गरेको जिल्ला अदालत मोरङले जनाएको छ । प्रतिवादीहरुको पक्षबाट बहसका लागि ५० जना कानुन व्यवसायीहरुले वकालतनामा पेश गरेको मोरङ जिल्ला अदालतले जनाएको छ । प्रतिवादीहरु तर्फको कानुन व्यवसायीहरुको संख्या धेरै भएकोले थुनछेक करिब ५ दिन चल्ने बताइएको छ । यसैबीच सरकारी वकिल कार्यालयले प्रहरी जवान विष्णुबहादुर खड्का र एयरलाइन्स कर्मचारी समिरमान तोलाङ्गेविरुद्ध पूरक अभियोग पेश गरेको छ । उनीहरु सरकारी गवाह बन्ने भएकाले सरकारी वकिल कार्यालयले ५० प्रतिशत सजाय माफी गर्न माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालय मार्फत ६३ जना विरुद्ध अभियोग पत्र दर्ता गराएकोमा ३० जना पक्राउ परेका छन् ।

LIVE TV