३० बैशाख २०७५, आईतवार

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा सरकारले राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै काम नगरेको दावी गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणबारे आज संघीय संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले अनावश्यक आशंका नगर्न आग्रहका साथ नयाँ चरणमा प्रवेश गरेको नेपाल–भारत सम्बन्ध बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको दावी गर्नुभएको हो । विगतमा अल्झेर बस्नुको अर्थ नहुने तर्क बताउनु भएका प्रधानमन्त्री ओलीले उच्चस्तरीय भ्रमण आदान–प्रदानले दुई देशीय सम्बन्ध ‘नाकाबन्दीबाट नाकाबन्दी नहुने अवस्थामा पुगेको’ दावीसमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू र भारतीय समकक्षी मोदीबीच यसअघि भएका सम्झौता असोजभित्र कार्यान्वयन गर्ने, काठमाडौं–रक्सौल रेल्वे र जलमार्ग सञ्चालनका लागि संयुक्त कार्यदल बनाएर सर्वे सुरु गर्ने, तीन महिनाभित्र ब्यापार सन्धि पुनरावलोकन गर्ने र भारतीय बजारमा नेपाली उत्पादनको पहुँच बृद्धि र निकासीमा देखिएको समस्या समाधान गर्ने सहमति भएको जानकारी पनि दिनुभयो । थप ‘एयर इन्ट्री रुट’ का लागि सेप्टेम्बरभित्र अध्ययन गरिसक्ने, भारतले बनाएका संरचनाका कारण नेपालको सीमावर्ती क्षेत्रमा हुने डुवान समस्या अध्ययन गर्न कार्यदल बनाउने र उर्जा ब्यापारमा आफूले लिएको एकाउन्न प्रतिशतको नीति सच्याउन भारत तयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ । सहमति र छलफलका बुँदा सदनलाई जानकारी गराउनु भएका प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमण दुई देशको लाभको पक्षमा भएको दोहो¥याउनु भयो ।

तीन बर्ष अगाडि बिग्रिएको सम्वन्ध सु–सम्वन्धमा ल्याउन समकक्षी मोदीले लिएको अग्रसरताका लागि धन्यवाद व्यक्त गर्नुभएका प्रधानमन्त्री ओलीले अ–हस्तक्षेप, पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाएर लैजान सकिने वातावरण बनेको दावी गर्नुभयो । नेपाल दुवै छिमेकीसँग सुमधुर सम्बन्धनको पक्षमा रहेको दोहो¥याउनु भएका प्रधानमन्त्रीले आफू छिट्टै चीन जाने पनि सदनलाई जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणबारे राष्ट्रियसभालाई पनि आजै जानकारी गराउनु भएको छ ।

LIVE TV