३० बैशाख २०७५, आईतवार
  • दान बहादुर बुढा

मुगु । हिमाली जिल्लाका वासिन्दाहरुका लागि बर्षभरका लागि खर्चको जोहो गर्ने माध्यम हो यार्सागुम्बा । अनुपम प्राकृतिक उपहार मानिने यार्सागुम्बा यौन तथा स्वास्थ्यवद्र्धक जडीवुटीकोरुपमा लिने गरिन्छ ।

  

यार्सागुम्बा संकलनका लागि स्थानीय तहहरुले यस बर्षका लागि प्रवेश खुला गरेसंगै यार्सा संकलकहरुको लेकतिर उक्लने हतारो बढेको छ ।

मुगु जिल्लाका विभिन्न वनहरुमा पाईने वहुमुल्य जडिबुटी यार्सागुम्वा संकलनका लागि कार्मारोङ्ग गाँउपालिकाले यो बर्ष जेष्ठ ५ गतेबाट प्रवेश खुल्ला गर्ने निर्णय गरेको छ ।

 

कामारोङ्ग गाँउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाका अनुसार यार्सागुम्वा संकलनका लागि मुगु जिल्लाका बासिन्दालाई प्रति व्यक्ति १५ सय र जिल्ला बाहिरका संकलकहरुलाई प्रति व्यक्ति २ हजार प्रवेश शुल्क तोकिएको छ ।

यसरी संकलन भएको शुल्क गाँउपालिका, व्यवस्थापन र यार्सा पाईने वडालाई भाग लगाइने छ भने गाउँपालिकाले यो बर्ष यार्साबाट १ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

मुगु जिल्लाका उच्च हिमाली पाटनहरुमा पाईने यार्सागुम्वा संकलनकाका लागिकणाली प्रदेशका १० जिल्ला लगायत बिभिन्न जिल्लाबाट हजारौ संकलक र खरिदकर्ताहरु मुगु आउने गर्दछ ।

गतबर्ष यार्सा टिप्नेहरुबाट शुल्कमार्फत जिल्ला विकास समिति मुगुले ७० लाख उठाएको थियो । यस्तै आर्थिक बर्ष २०७२÷०७३ मा १ करोड ६० लाख प्रवेश शुल्क उठेको थियो ।

गत बर्षसम्म जिल्ला विकास समिति र मुगु गाँउ विकास समितिले उठाउदै आएको यार्सा शुल्क स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गदै यो बर्षबाट स्थानीय सरकार कार्मारोङ्ग गाँउपालिका र सोहि गाउँपालिकाको २ नं वडा कार्यालयले उक्त कर उठाउने छन ।

व्यापारीहरुका अनुसार यसरी संकलन गरिएको यार्सा तिब्बती बजार तथा काठमाडौ, पोखरा र भारतको नयाँ दिल्लीमा प्रति केजी १ नं को ४० लाख २ नं को ३० लाख र ३ नं को २० लाख मुल्यमा विक्री हुने गर्दछ ।

LIVE TV