३० बैशाख २०७५, आईतवार

एजेन्सी ः

फ्रान्सका अभियोजनकर्ताहरूले मध्य पेरिसमा बाटोमा हिँडिरहेका मानिसहरूमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन्।

ती हमलामा एकजना ज्यान गएको थियो भने चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग ‘एक इञ्चले पनि नझुक्ने’ बताएका छन्।

पर्यटकहरूको चहलपहल हुने पेरिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो। स्थानीय समय अनुसार शनिबार राति साढे नौ बजे भएको घटनापछि प्रहरीले घटनास्थलमा घेराबन्दी गरेको थियाे ।

प्रत्यक्षदर्शीले धारिलो हतियारले हमला गर्ने व्यक्तिले ‘अल्लाहु अकबर’ भनेर काराएको र उनलाई नियन्त्रणमा लिन ‘स्टन गन’ को प्रयोग गरिए पनि त्यसले परिणाम नदिएपछि प्रहरीले गोली हानी मारिदिएको जनाएका छन्।

आफ्नो समाचार संस्थामार्फत इस्लामिक स्टेट समूहले हमलाको जिम्मेवारी लिएको छ।

LIVE TV