२९ बैशाख २०७५, शनिबार

काठमाडौं संस्कृतिको दिव्य महल भएको भारतीय प्रधानमन्त्री मोदीको निष्कर्ष, भूकम्पपछि काठमाडौंवासीले देखाएको धैर्यता र साहस सराहनीय रहेको मोदीको भनाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरिएको छ ।

काठमाडौंको सभागृहमा आयोजित विशेष कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको हो । नगर प्रमुख विद्या सुन्दर शाक्यले मोदीलाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । प्रमुख शाक्यले मोदीलाई महानगरपालिकाको सांकेतिक साँचो समेत हस्तान्तरण गर्नुभएको थियो । त्यसक्रममा उहाँलाई महानगरले ५५ किलोको बुद्धको मुर्ति, काठको मयुर झ्याल समेत प्रदान गरिएको थियो ।

अभिनन्दन कार्यक्रममा देशबीचका सामाजिक, सास्कृतिक, धार्मिक र आर्थिक सम्बन्धले दुई देशको सम्बन्ध जनस्तरमा झनै उँचोे रहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई थियो । महानगरलाई अभिनन्दनका लागि धन्यवाद दिँदै नेपालीले दिने माया र सत्कारका कारण आफूलाई नेपाल आउँदा शान्ति र आत्मियताको महशुस हुने बताउनु भयो । उहाँले काठमाडौंलाई संस्कृतिको दिव्य महल भएको पनि बताउनुभयो । त्यसक्रममा मोदीले काठमाडौं सहरको कला, संस्कृति र रहनसहनको लामो व्याख्या गर्दै यस्ले आफुलाई मन्त्र मुग्ध पारेको बताउनुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले नेपाली हुँदै हिन्दीमा धारणा राख्नु भएको थियो । मोदीले सुरुको दुई नेपाल भ्रमणमा पशुपतिनाथको दर्शन गरेको र यो पटक जनकपुर र मुक्तिनाथ गएको बताउँदै अर्को भ्रमण बुद्धको जन्मभूमि लुम्बिनीमा बिताउने उद्घोष गर्नुभयो ।

नेपाली जनताप्रतिको आफूप्रतिको आलोचना कम गर्न खोज्दै मोदीले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको समेत चर्चा गर्नुभएको थियो । उहाँल नेपाल– भारत सम्बन्ध आइपिएलमा समेत जोडिएको बताउँदै खेल जगतमा समेत नेपाल र भारतबीचको अन्योन्याश्रीत सम्बन्ध रहेको चर्चा गर्नुभएको थियो । यसैबीच भारतीय प्रधानमन्त्री मोदी दुई दिने नेपाल भ्रमण टुंग्याएर आजै स्वदेश फर्कनु भएको छ ।

LIVE TV