२९ बैशाख २०७५, शनिबार

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले ८० बर्ष भन्दा पाको उमेरका जेष्ठ नागरिकको घरघरै पुगेर उपचार गर्न थालेको छ ।

बिरामी र बुढ्यौलीका कारण नियमित स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य केन्द्र र अस्पतालसम्म जान नसक्ने जेष्ठ नागरिकको सुविधाका लागि घरमै पुगेर स्वास्थ्य सम्बन्धि परामर्श, औषधि सेवनको तरिका र निशुल्क औषधि वितरण गर्न थालिएको हो ।

छथर जोरपाटी गाउँपालिका क्षेत्रका तेलिया, तांखुवा, परेवादिन र हाक्तीखर्क लगायतका स्थानमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मीको समुह जेष्ठ नागरिकको उपचारका लागि खटिएको छ ।

१५ दिन यता जाँच गरिएका करिब तीन सय ५० जेष्ठ नागरिक मध्ये अधिकाशंमा हाडजोर्नी, मधुमेह, उच्च रक्तचाप र आँखाको समस्या पाइएको छथरजोरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताएका छन् ।

८० बर्ष उमेर कटेका जेष्ठहरुको हरेक चार महिनामा पुनःपरिक्षण गरि औषधि वितरण गरिने गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिएका छन् ।

बृद्धबृद्धाको स्वास्थ्य जाँच र औषधि वितरणका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

LIVE TV