२९ बैशाख २०७५, शनिबार

काठमाणडौ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलका नेतासँग भेटवार्ता गर्नुभएको छ ।

होटल हायातमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साथै काँग्रेस पदाधिकारीसँग सामूहिक भेट गर्नुभएको थियो । भेटमा सभापतिसँगै उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीता यादव, विजय गच्छदार, रामचन्द्र पौडेल लगायतका नेता सहभागी थिए ।

त्यसैगरि मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एक्लै भेटवार्ता गर्नुभएको थियो । यसअघि हिजो होटल द्वारिकामा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीसँग एकमुष्ट भेटवार्ता गर्नुभएको थियो ।

त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रिय जनता पार्टी नेपालका नेताबीच भेटवार्ता भएको थियो । लामो समयदेखि अस्वस्थ रहेका राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकूर र अध्यक्ष मण्डलका सदस्यबीच भेट भएको थियो । त्यसलगत्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले समेत मोदीसँग भेट गर्नुभएको थियो । राजनीतिक दलका नेतासँगको भेटमा समसामयिक विषयका बारेमा छलफल भएको थियो । भेट लगत्तै भारतीय प्रधानमन्त्री मोदी काठमाडौं महानगरपालिकाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागि भएर आजै स्वदेश फर्कनुहुनेछ ।

LIVE TV