२९ बैशाख २०७५, शनिबार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा सबै नेपालीको घरमा विद्युतुसेवा पुर्याइने प्रतिबद्धता जनाएका छन् ।

आगामी तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने दिशामा सरकार रहेकाे बताउँदै उनले ५ वर्षमा अँध्याराेमुक्त देश बनाउने ठाेकुवा गरे । साथै बढी उत्पादन भएकाे विद्युत विदेश निर्यात गर्ने नीति तय गरेको समेत उनले जानकारी दिए ।

मुलुकमा हालसम्म ७५ प्रतिशत नागरिकको पहुँचमा मात्र विद्युत् सेवा पुगेको छ । २५ प्रतिशत जनता अझै पनि अँध्यारोमा बस्न बाध्य छन् ।

सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार ललितपुरमा उद्घघाटन गर्दै मन्त्री पुनले भने, ‘अबको पाँच वर्षमा सबै नेपालीका घरमा उज्यालो पुर्याउने गरी सरकारले काम गरिरहेको छ ।’

आफ्नो मन्त्रालयले केही दिनअघि जारी गरेको श्वेतपत्रमा ऊर्जा उत्पादनमा जोड गर्नुका साथै प्रसारण लाइन निर्माण तथा अन्य नीतिगत विषयमा स्पष्ट पारेको जानकारी समेत दिए । उनले स्वेतपत्रमा उल्लेख गरिएका विषय कार्यान्यवन गराएरै छाड्ने उनले प्रतिबद्धता समेत जनाए ।

LIVE TV