२९ बैशाख २०७५, शनिबार

‘कथा’

  • नविन राई

काठमाडौँ ।  सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका आफन्तलाई जोडेर राखेको छ । केही जोडिएकालाई तोडेको पनि छ । फेसबुकबाट भेटिएर प्रेममा परि विवाह गर्नेहरु पनि धेरै छन् । फेसबुकले कतिको राम्रो जोडी बनाए त कतिको राम्रो जोडीलाई फुटायो ।

एक दिन म कम्प्युटरमा बसेर काम गरिरहेको थिए । तीनवटा फ्रेन्ड रिक्वेष्ट आयो । पहिलो हेरे केटी साथीको थियो । दोस्रो हेरे केटा साथीको थियो अनि तेस्रो पनि हेरे केटी साथीको थियो, तर सबै नचिनेका साथीहरू थिए । सबैको प्रोफाईलमा गएर हेरे खासै त्यति  मन छुने केही कुरा पनि पोस्ट गरेको भेटिन ।

तीनै जनाको रिक्वेष्ट स्वीकार नगर्ने निर्णय गरे किन कि नचिनेको मान्छेहरूको रिक्वेष्ट खासै स्वीकार गर्दिन थिएँ । कसैको मन छुने पोस्टहरू छ भने स्वीकार गर्ने गरेको थिए । तर तेस्रो साथीको प्रोफाइल फेरि एक पटक चेक गर्न मन लाग्यो र गरे । मनले कता-कता रिक्वेष्ट स्वीकार गर भन्यो । म के गराैँ गराैँ भए, अन्त्यमा दोमन हुँदा हुदैँ तेस्रो साथीको रिक्वेष्टलाई स्वीकारे ।

तेस्रो साथी थिइन् युनिमा शर्मा । उनीसँग कुराकानी हुन थाल्यो । मैले उनको घर सोधे, सोध्न नपाउँदै उनले भनीन् मेरो ‘इलाम’ हो अनि तपाईँको नि ? मैले पनि मेरो घर बताए । फेसबुकमा लामो कुरा हुन थाल्यो । एक दिन मात्रै होइन दिनहुँ घन्टाैँसम्म कुरा हुन थाल्यो । अनलाईनमा बस्यो कि उनीसँगै कुरा हुन थाल्यो । फेसबुक च्याट खासै नगर्ने मान्छे खुब च्याटमा व्यस्त हुन थाले ।  कुराहरु  धेरै हुन थाले । उनले पनि उनको बारेमा सबै बताइन् । मैले पनि मेरो बारेमा उनलाई सबै बताए । उनको र मेरो बिहान बेलुकै कुरा हुन थाल्यो ।

कहिल्यै नदेखेका मान्छे, कहिल्यै नचिनेको मान्छे एक दुई दिनमै पहिल्यैदेखि चिनजान भएको साथी जस्तै भयौ हामी । फेसबुकमै हाम्रो धेरै कुरा हुन थाल्यो  । उनी अफिस जाँदा पनि फेसबुकमा कुरा गर्दै जान्थीन् । अनि अफिसबाट फर्केपछि पनि कुरा हुन्थ्यो । यती धेरै कुरा गर्ने साथी कस्तो होला भन्ने मेरो मनमा खुलदुली लाग्न थाल्यो । कतै ‘केटीको आइडीबाट केटाले बेवकुफ पो बनाइरहेको छ कि’ भन्ने लाग्यो । र मैले उनको फोन नम्बर मागे तर उनले दिइनन् उल्टै हजुरको दिनुस् न भनिन् , मैले कुनै सङ्कोचनै नमानी फोन नम्बर सेन्ट गरिदिए । नभन्दै उनले फोन गरिन् । म अफिसमा बसेर काम गरी रहेको थिए । उनी पनि अफिस जाँदै बाटोबाट फोन गरिन , फोनमा कुरा भयो ।

म अफिसमा एक्लै  थिए त्यसैले उनी अफिस पुगिन्जेलसम्म कुरा भयो । अफिसबाट घर र्फकेपछि फेरी उनीसँगै कुरा हुन थाल्यो । उनको र मेरो कुराहरू झनझन लम्बिदै गयो । हामी पनि नजिकिदै गयौँ । अब त फेसबुकमा भन्दा पनि फोनमा नै बढी कुरा हुन थाल्यो । मलाई पनि जिन्दगी केही फरक लाग्न थाल्यो । म सोच्थे को होला उनी ? कस्ती होलीन ?  हाम्रो भेट कहिले होला ? जस्तो मनमा अनेकौँ प्रश्नहरू उब्जिन थाल्यो । कुनै दिन फेसबुको भित्तामा भेटिएकी उनी मनको भित्तामै भेटिन थालिन् । म सोच्दथे प्रेम त भेटेको मान्छेसँग पो हुन्छ, आफ्नै अगाडि देखेको मान्छेसँग पो हुन्छ, नभेटेको नदेखेको मान्छेसँग त सम्बन्ध कुनै धर्का नि जोडा मिल्दैन , यस्तै भन्थे म, तर भित्ताको पात्रोसँगै समय पनि फेरियो ।

म बिचारको धरातलमा ठिक १८० डिग्रीको फन्को हानेर उभिएको छु अनि सोचिरहे छु प्रेम त नभेटे पनि हुदोरहेछ । आफ्नै अगाडि नदेखे पनि माया हुँदो रहेछ । पहिलो पटक फेसबुकमा भेटिएकी उनी तर अचेल मेरो मन भित्रनै  भेटिन थालेकी छिन् । मलाई नै थाहा छैन कसरी यति बिघ्न प्रिय भइन् उनी । अनि म पनि कसरी यति बिघ्न प्रिय भएँ थाहा छैन । तर यस्तो लाग्छ कि प्रेम हुनका लागि विशेष त्यस्तो खुबी नै आवश्कता हुन्छ भन्ने चाहिँ होइन रहेछ। यो यसै-यसै पनि भैदिदो रहेछ ।

यो फरक कुरा हो की आजसम्म आमुन्ने-सामुन्ने भएका छैनौ हामी , उनी कहाँ हो कहाँको देशमा म यहीको देशमा । तर यस्तो लाग्छ । हामी त एकअर्काको मुटु भित्र बसी सकेका छाैँ । एकअर्काको मन भित्र बसी सकेका छाैँ र त जिन्दगी यति मिठो लाग्दै छ । बाच्नुको मज्जा यति धेरै महसुस भैरहेछ ।

फेसबुकदेखि लभ परेको छ भन्दै साथीहरूले सुनाउँदा म बेसरी साथीहरूलाई उडाउँथे । तर वास्वतमा जहाँ भेटे पनि मन मिल्यो भने माया त त्यतिकै बढ्दो रहेछ । डाँडाकाँडाले कहाँ छेक्दो रहेछ र नभेटे पनि नदेखे पनि नदेखे । दिनहुँ कुरा हुन्छ उनीसँग । बिहान गुड मर्निङ र बेलुका गुट नाईट नभनेको कुनै दिन छैन । उनलाई नभेटे पनि नदेखे पनि सधै-सधै सम्झिरहने छु ।  मनको भित्रको साथी तिमि, मनले सधै नजिक हुने छाैँ दुरीले टाढा भएपनि  ।

 

 

LIVE TV