२९ बैशाख २०७५, शनिबार
  • राजेन्द्र तारकिणी

बिहानमा आकाशले घाम बाँड्छ
तिमीलाई पनि मलाई पनि 
ठूलो हत्केला छ भन्दैमा तिमी
किन छेक्छौ मेरो घाम ?

तिमी चाहन्थ्यौ–
तिम्रो ऐच्छिक गर्भबाट म जन्मिऊँ
र, तिम्रा मस्तिष्कका तारले म सोचूँ !
तिमी चाहन्छौ–
निर्बाध बगिरहून् मेरा आँसुका हिमनदीहरू
र, नुहाइरहन पाओस् तिम्रो ‘थार’ अनुहारले !
तिमी अझै चाहन्छौ–
पटकपटक फुटिरहोस् मेरो स्वाभिमानको मुटु
र, रगत्ले रङ्गिरहोस् तिम्रो आर्यावर्त !

तिम्रो ‘ऋषिमन’
चक्कु चलाइरहन्छ तिम्रै देवर्षि भूमिमा
तिम्रो ‘पञ्चशील’
आत्महत्या गरिरहन्छ तिम्रै विस्तारवादी झण्डामुनि
युएनमा ‘भाइचारा’ गर्जने तिमी
‘भा–रत’को लगौँटीमा भाइमारा पाली बस्छौ !

तिम्रो संविधानमा
मेरो रगत्को ल्याप्चे लागेको छैन
मेरो खुकुरी
कहिल्यै तिम्रो खुट्टाको दुश्मन भएन
इतिहास पल्टाऊ–
तिम्रो शत्रुको घाँटी कसले छप्कायो,
तिम्रो समथर छातीको रक्षक को हो ?

ओ ! मेरो दक्षिणी रिपुमित्र,
मेरो नागरिक–रङले लेखिएको संविधानमा
तिमी किन आफ्नो पञ्जाछाप चाहन्छौ ?
बरु सोध तिम्रै धमिरे संविधानलाई–
कश्मिरको धुवाँ किन झन् पिरोकालो भैरहेछ,
किन चिच्याइरहेछ गोर्खाल्याण्ड,
खालिस्तान किन बौलाउन थालेको छ ?

आफ्नै नाकमा ताल्चा ठोकेर
तिमी ‘नाकाबन्दी’ त गर्छौ
तर लगाउन मान्दैनौ सीमानामा पर्खाल
तिम्रो ‘विहारी लू’ पसेर
पोलिरहन्छ मेरो मधेश
खुलेआम छिर्ने लामखुट्टेहरूले
फैलाइरहन्छन् ‘घातक डेंग्यु’ !

म पनि सक्थेँ–
तिम्रो सिमानादेखि ढोकासम्म तैनाथ
वीर ‘दरबान’हरूलाई उक्साउन,
वर्षेनी मेरो देश डुबाउने
तिम्रो घमण्डको ब्यारेज भत्काउन,
तिर्खा मेट्ने मूलहरू थुनिदिन,
‘डिजिटल इन्डिया’ बनाइदिने बिजुली काट्न !
तर म छुद्र प्राणी भइनँ,
यो आत्मसम्मानमा तिमीले दिने ठेसले
म अझ अगाडि हुत्तिएर सोच्नेछु !

मेरो मानवअधिकार विरुद्ध
तिमीले ‘पेट्रोल युद्ध’ सुरु गरेपछि
विरत्वको जिन उम्लिएको छ
रगत् इन्धन बनेको छ,
मेरो राष्ट्रियताको इन्जिन बेजोडले चलिरहेछ !

तिम्रो सम्मानको मतलव
मेरो रगत्माथिको ‘मोनोपोली’ होइन
तिम्रो ‘रोटी–बेटी’को मतलव
सीमापार आतङ्कको निर्यात होइन !

सक्छौ भने च्यात–
आँखामा टाँसिएको ‘सुगौली सन्धी’को कालो पट्टी
र, नियालेर हेर आफ्नै पञ्जालाई
त्यहाँ मानवताभन्दा ब्वाँसो धेरै गन्हाइरहेछ
साउथ एसियामा ब्वाँसो घृणित छ !

(२०७२ सालमा भारतले अनाहकमा नेपालमाथि नाकाबन्दी लगाएका बेला कवि राजेन्द्र तारकिणीद्वारा लेखिएकाे प्रस्तुत कविता सान्दर्भिक लागेर यहाँ साभार गरिएकाे हाे। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी यही वैशाख २८/२९ मा नेपाल भ्रमणमा रहेका छन्, यसबेला नेपालीहरूले नाकाबन्दीकाे पीडा स्मरण गरेका छन्।)

LIVE TV