२७ बैशाख २०७५, बिहीबार

पाँच दशकको प्रतीक्षापछि दक्षिणपूर्वी झापावासीले मेची नदीमा बल्ल पुल पाए, बाटो नबन्दा पुल भने अझै सञ्चालनमा आएन

  • राजु पौडेल,

झापा । पाँच दशकको प्रतीक्षापछि नेपाल–भारतको सीमावर्ती नाका जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण सम्पन्न भएको छ । तर, दुवैतर्फ जोड्ने सडक निर्माणमा ढिलाई हुँदा पुल भने अझै सञ्चालनमा आएको छैन ।

नेपालतर्फ मेचीपुललाई हुलाकी राजमार्गसँग जोड्ने डिजाइन र नक्सा तयार नहुँदा पुल जोड्ने सडक बन्न सकेको छैन । पूर्वतर्फ भारत सरकारले पुललाई विहार या बंगाल कुन राज्यमा पुललाई जोड्ने भन्ने निक्र्यौल गर्न नसक्दा भद्रपुरस्थित मेचीपूल उद्घाटनको प्रतीक्षामा छ । नेपाल सरकारले बजेट निकासा गरेपछि वि.स. २०६८ माघ २१ गतेदेखि मेचीपुलको निर्माण कार्य सूरु भएको थियो । तीन बर्षमा निर्माण कार्य पूरा हुने भनिएपनि मेची पूल निर्माण हुन सात बर्ष लागेको छ । पुल बनेपनि जोड्ने सडक नबन्दा तत्काल पुल सञ्चालनमा अन्यौलता देखिएको छ ।

भारततर्फ सडकलाई निर्माण गर्न दुवै देशका सरकारी अधिकारी, जनप्रतिनिधि, व्यवसायी र इन्जिनियरको टोलीले मेची पुलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए । निरीक्षण तथा अनुगमन पश्चात् पुललाई भारतको विहार राज्यसँग जोड्ने अन्तिम निष्कर्ष निकाल्दै सडक निर्माण गर्न निर्देशन दिइएको छ । यता, नेपाल तर्फ हुलाकी राजमार्ग जोड्ने लक्ष्य र योजनाका साथ बनाइएको मेची पुलको सडक निर्माण कार्यले तीव्रता पाउन सकेको छैन । पुलको सडक जोड्ने स्थानका घर र भौतिक संरचना नहटाइदा सडक निर्माण्मा समस्या भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

पूल निर्माण हुदाँ समेत सडकको कारण मेची पुल सञ्चालनमा ल्याउन नसक्नु विडम्बना हो । बर्खा लाग्नु अगावै मेचीपुल सञ्चालन ल्याउन सके स्थानीयले सास्ती व्यवर्होनु पर्ने थिएन ।

LIVE TV