२७ बैशाख २०७५, बिहीबार
पाकिस्तानबाट आयात गरिएको चिनी महंगो परेपछि फर्काउँदै, पाकिस्तानी व्यापारीको नेपालीसँगको विश्वास गुम्दा भन्सार राजश्वमा पनि घाटा

मोरङ । महंगो परेको भन्दै पाकिस्तानबाट आयात गरिएको चिनी नेपाली व्यापारीले फर्काएका छन् । चिनी फर्काउदा एकातिर पाकिस्तानी व्यापारीको नेपाली व्यापारीसँगको विश्वसनीयता घटेको छ भने भन्सार राजश्वमा समेत असर परेको छ ।

पाकिस्तानबाट मगाइएको चिनी प्रति कन्टेनर ४ लाख रुपैयाँ सम्म घाटा हुन थालेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका चिनी आयातकर्ताहरुले आयात गरेको चिनी अन्य मुलुक तर्फ फर्काउन थालेका हुन् । चिनी फर्काउने र सौदा रद्द गर्दा पाकिस्तानी व्यापारीहरुसंग नेपाली व्यापारीहरुको विश्वसनियता घटेको छ ।

सरकारले चिनीको भंसार मूल्यांकन ४ सय ६० डलर प्रति मेट्रिक टन तोकेको र भंसार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याएपछि आयातित चिनी प्रति किलो ९ रुपैया सम्म महंगो भएकाले आयातकर्ताहरुले ठूलो घाटा हुनबाट जोगिन चिनी फर्काउन थालेका हुन् । यस क्षेत्रका व्यापारीहरुले डिएपी अर्थात डकुमेण्ट एगेन्स्ट पेमेण्टबाट मगाएको चिनी फर्काउन थालेको नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेश सदस्य श्रवण अग्रवालले जानकारी दिनुभयो । डिएपीबाट सामान आयात गर्दा सामान पाएपछि मात्र पैसा दिनुपर्ने हुन्छ भने एलसीबाट मगाउदा बैंक मार्फत भुक्तानी हुने गर्दछ ।

एलसी मार्फत आयात गरिएको चिनी पनि केही जरिवाना शुल्क तिरेर अन्यत्र मुलुक तर्फ पठाउन थालिएको एक नम्बर प्रदेश सदस्य श्रवण अग्रवालले जानकारी दिनुभयो ।

पाकिस्तानबाट आयातित चिनी भन्दा भारतीय चिनी मात्र नभई नेपाली चिनी समेत सस्तो पर्न थालेपछि व्यापारीहरुले भंसारबाट समेत चिनी छुटाउन छाडेका छन् । विराटनगर भंसार कार्यालयको गोदाममा अहिले करिब १५ कन्टेनर अर्थात ३ सय ९० मेट्रिक टन चिनी लामो समयदेखि थन्किएको छ ।

LIVE TV