२७ बैशाख २०७५, बिहीबार
  • रिया भण्डारी

निजी तथा सरकारी अस्पतालहरुले सबै प्रकारका उपचार सेवामा लिइने शुल्क सार्वजनिक गर्नुपर्ने भनेर गत फागुन मै स्वास्थ्य मन्त्रालयमा बसेको शुल्क निर्धारण कार्यदलको बैठकले निर्णय गरेको थियो । १० दिनको अल्टिमेटम दिंदै स्वास्थ्य मन्त्रालयले सबै निजी तथा सामुदायिक र सरकारी अस्पतालले समेत अस्पतालमा उपचार शुल्क आफ्नो वेबसाइट मार्फत सार्बजनिक गर्न निर्देशन दिएको थियो ।तर हालसम्म अस्पतालहरुले शुल्क सार्वजनिक गरेका छैनन् ।

स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखा प्रमुख तथा शुल्क निर्धारण कार्यदलका अध्यक्ष डा. भोलाराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अस्पतालहरुलाई पत्राचार गरिएको थियो । तर शुल्क निर्धारण कार्यदलका प्रमुख डा भोलाराम श्रेष्ठको मन्त्रालयबाट सरुवा भएसंगै मन्त्रालयले दिएको अल्टिमेटम बिर्सिएको छ ।

सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालयको वेबसाइट र निजी अस्पतालले आ–आफ्नो वेबसाइटमार्फत शुल्क विवरण सार्वजनिक गर्नुपर्ने एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालसंग समेत सहमति भैसकेको थियो
सरकारले शुल्क निर्धारण गर्नु पूर्व हाल अस्पतालहरुले लिरहेको शुल्क बारे जानकारी लिने र त्यस पश्चात शुल्क निर्धारण गर्ने योजना स्वास्थ्य मन्त्रालयको छ । कैयौ अस्पतालहरुले बेड चार्ज, ल्याब टेस्टलगायतमा १० प्रतिशत नर्सिङ चार्ज लिई थप १३ प्रतिशत भ्याट लिने गरेको, विभिन्न शीषर्कहरू खडा गरी सेवा शुल्क असुल गरेको यस अघि कै आपूर्ति बिभागको अनुसन्धानबाट पुष्टि भैसकेको छ ।

स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७०को दफा ३० अनुसूची ७ मा सेवा शुल्क निर्धारण समितिको व्यवस्था छ । शुल्क निर्धारण सम्बन्धमा स्वास्थ्य सचिव पुष्पा चौधरीको अध्यक्षतामा ४ बर्ष पछि माघ २६ गते शुल्क निर्धारण समितिको बैठक बसेको थियो । तर हाल सम्म शुल्क निर्धारण नहुँदा शुल्क निर्धारण गर्न आलटाल गरिएको देखिएको छ ।

LIVE TV