२६ बैशाख २०७५, बुधबार

मुगु । सरकारको दावीअनुसार सुशासन र जनसेवालाई उच्च प्राथमिकता दिइएको छ । तर, मुगुका सरकारी कार्यालय न सेवामैत्री छन्, न कार्यशैलीमा चुस्त–दुरुस्त । लगातार आठ दिन धाउँदा पनि काम हुँदैन् । प्रसंग हो मुगुको खानेपानी तथा सरसफाई कार्यालयको ।

बुधबार अपरान्ह १२ बज्दा ‘हाकिम साप’को व्यग्र प्रतिक्षामा थिए एक हुल सेवाग्राही । तर, कार्यालय प्रमुखको कार्यकक्षमा तालासमेत खोलिएको थिएन ।

खत्याड गाउँपालिका–७ गम्थाका यि सिदरे डाँगर जिल्ला खानेपानी कार्यालय धाएको ८ दिन वित्यो । यो वर्ष सम्पन्न हुनुपर्ने आयोजनाको अन्तिम सम्झौका लागि दुई दिन पैदल हिँडेर गमगढी आएका डाँगर निरन्तर कार्यालय प्रमुखको प्रतिक्षामा छन् । तर, खान÷बस्न ल्याएको खर्च सकिँदा पनि कार्यालय प्रमुखसँग भेट भएको छैन ।

कार्यालय प्रमुख र प्राविधिकको अनुपस्थितिका कारण यि सिदरेले जस्तै अधिकांश सेवाग्राहीले सास्ती भोग्नु परिरहेको छ । जिल्लामा सञ्चालित अधिकांश खानेपानी आयोजन प्रभावित भएका छन् । सम्बन्धित कार्यालयका प्राविधिक नहुँदा अन्य कार्यालय वा बाहिरका प्राविधिकलाई खर्च दिएर काम गर्नुपर्ने बाध्यता छ ।

जिल्लास्थित कार्यालयका अधिकांश कर्मचारी कार्यस्थलमा हुँदैनन् । हाजिर गरे पनि बस्दैनन् । सामान्य गोष्ठी र सेमिनारका लागि जिल्ला छोड्छन् । सामान्य प्राविधिकले गर्ने कामका लागि ‘अनुगमन’ भन्दै हप्तौं हराउँछन् । तर, सेवाग्राहीले चुस्त–दुरुस्त सेवा लिन नसकेको स्वीकार्ने स्थानीय प्रशासन निरन्तर निर्देशन दिनेभन्दा माथि उठ्न सकेको छैन ।

समयमै सेवा नपाउँदा सेवाग्राहीलाई आर्थिक भार मात्रै परिरहेको छैन, लाखौ खर्चिएका सरकारी आयोजना अलपत्रसमेत परेका छन् । तर, कार्यालय प्रमुखसहितका कर्मचारीलाई यि दुवै समस्याले कहिल्यै पिरोलेको देखिँदैन ।

LIVE TV