२५ बैशाख २०७५, मंगलवार

काठमाडौँ : नेपली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले जननायक विपी कोइरालाको पुख्र्यौली सिन्धुलीको दुम्जा पुगेर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

आज विपी कोइरालाको पुख्र्यौली थलो दुम्जा पुगेर निधिले आफू काँग्रेसको राजनीतिमा यहाँसम्म विपीको आशीर्वादले नै पुगेको बताउँदै श्रद्धाञ्जलि अर्पण गर्नुभएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । विसं २०३६ मा नेता निधिलाई विपीले नै नेपाल विद्यार्थी संघको अध्यक्ष बनाउनुभएको थियो ।

पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा उपसभापति निधिले काँग्रेसको नेतृत्वमा सम्पन्न गत निर्बाचनमा पार्टीले हार बेहोर्नु परेपनि देश, लोकतन्त्र र संसदीय व्यवस्थाको जित भएको भन्दै पाँच वर्षपछि हुने चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

त्यसका लागि पार्टीमा कुनै किसिमको गुट उपगुट हुन नहुने भन्दै उहाँले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो । पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने विषयमा पार्टीका सबै नेतासँग आफूले कुरा गर्ने उल्लेख गर्दै उहाँले पदाधिकारी चयनलगत्तै नेतालाई भेटेर त्यसको शुरुवात गरेको जानकारी गराउनुभयो ।

विपी राजमार्गदेखि दुम्जासम्मको बाटो बनाउने काम आफू भौतिक पूर्वाधार मन्त्री हुँदा सम्पन्न भएको स्मरण गर्दै उपसभापति निधिले यो क्षेत्रमा व्याप्त खानेपानीको समस्या समाधानका लागि सरकारसँग पहल गर्ने बताउनुभयो ।

विपी पार्क र संग्रहालय बनाएर दुम्जालाई सम्पूर्ण प्रजातन्त्रवादीको आस्थाको केन्द्र बनाउन काँग्रेसले पहल गर्ने उहाँका भनाइ थियो ।

भेटघाटमा प्रदेश नं २ का काँग्रेस सांसद ओमप्रकाश शर्मा, सिन्धुली काँग्रेसका सभापति उज्ज्वल बराल, पूर्वसांसद मोहन बराल, पार्टीका नेता दीपशिखा शर्मा, रामहरि खतिवडालगायतले दुम्जाको विकासका लागि पहल गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।

LIVE TV