२५ बैशाख २०७५, मंगलवार

काठमाडौं । नेपाली फिल्म क्षेत्र बलिउड फिल्मबाट निकै प्रभावित छ । कपितय बलिउड फिल्मका स्टोरीदेखि संवादसम्म नेपाली फिल्ममा हुबहु प्रयोग गरिने कुरा यहाँलाई भनिरहनु नपर्ला ।

यसैबीच सोमबार दिउँसो एक कार्यक्रमका बीच नेपाली फिल्म ‘झमक बहादुर’ को ट्रेलर रिलिज गरियो । जून फिल्मको ट्रेलर बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’ सँग मिलेको धेरैले भान पाए ।

कतिपयले तुरुन्त यो फिल्म कपी गरिएको रहेछ भन्दै प्रतिक्रियासमेत दिए । यद्धपि फिल्म निर्माण यूनिटले यो विषयमा स्पष्ट कुरा राखेको छैन ।

ट्रेलर रिलिज गरिएको २४ घण्टा नपुग्दै युट्युवमा यसलाई झण्डै तीन लाख पटक हेरिएको छ । २३ घण्टामा २ लाख ७५ हजार भ्युज रहेको यो ट्रेलर कमेडी नै कमेडीले भरिएको छ ।

फिल्म श्रावण १८ गते रिलिज हुने जनाइएको छ । चलचित्रमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार थापा लगायतले अभिनय गरेका छन् । मिन कुमार तामाङ निर्मित यो फिल्मलाई भोमन कटुवालले निर्देशन गरेका हुन् ।

त्यसो त एकाध फिल्म मेकरले मात्र आफ्नै मौलिक विषय, संस्कृति अनि परिवेशका फिल्म निर्माण गरिरहेका छन् । होइन भने अधिकांश निर्देशकदेखि मेकरसम्म चोरीको कथा, संवाद र अभिनयलाई नै नेपाली फिल्ममा उतारेर गर्व गरिहेका छन् ।

LIVE TV