२५ बैशाख २०७५, मंगलवार

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको हो । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न सहयोग गर्ने मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले बताए ।

सहसचिव घिमिरेका अनुसार अब सम्बन्धित रोजगारदाता मुलुकमा रहेका नेपाली दूतावासमा आधिकारिक जाँचबुझ भएपछि मात्रै वैदेशिक रोजगार विभागमा कामदारकाे मागपत्र पेश गर्न सकिने व्यवस्था उक्त निर्देशिकाले गरेकाे छ । “मन्त्रालयले समन्वयात्मकरुपमा सम्बन्धित मुलुकका राजदूतावास र सरकारसँग वैदेशिक रोजगारीका लागि काम गर्छ,” घिमिरेले भने, “रोजगारीका लागि नेपाली युवालाई कुण्ठित गर्न भने सरकारले खोजेको होइन ।”

यसअघि नेपाली नियाेगबाटै प्रमाणीकरण हुन नसक्दा कामदार ठगिँदै अाएका थिए । वैदेशिक रोजगार नेपालको बाध्यता भएको भन्दै उनले पूर्व राजदूतहरुसँगको छलफलबाट सरकारले जाँचबुझ निर्देशिकाको निचोड निकालेको जानकारी दिए ।

LIVE TV